स्रोत अभावले थन्किएका आविष्कार-नवप्रवर्तनमा सरकारले लगानी गर्ने, प्रोटोटाइप बनाउनेलाई निम्तो
साउन १२, २०८३ ९:१५
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले स्रोत र साधनको अभावमा अगाडि बढ्न नसकेका अनुसन्धान र आविष्कारहरूलाई सरकारले सहयोग गर्ने घोषणा गरेका छन् । मंगलबार फेसबुकमा एक पोस्ट राख्दै मन्त्री पुनले विगतका वर्षहरूमा अनुसन्धानकर्ता वा नवप्रवर्तकहरूले तयार पारेका उपयोगी वस्तु वा सेवाका नमुना (प्रोटोटाइप) हरूलाई मन्त्रालयले अगाडि बढाउने जानकारी दिएका हुन् ।
धेरै नवप्रवर्तकहरूले व्यवहारिक अनुसन्धान मार्फत राम्रा प्रोटोटाइपहरु बनाए पनि आर्थिक अभावका कारण ती कामहरू थन्किएर बसेको गुनासा आउने गरेका छन् । मन्त्रालयले त्यस्ता नमुनाहरूको अध्ययन गरी आवश्यक सहयोग उपलब्ध गराउने योजना बनाएको छ । यसका लागि मन्त्रालयले चाँडै नै औपचारिक रूपमा प्रस्ताव आह्वानको सूचना सार्वजनिक गर्ने तयारी गरेको पुनले जानकारी दिए ।
पुनले फेसबुकमा लेखेका छन्, “अघिल्ला वर्षहरूमा कोही अनुसन्धानकर्ता वा नवप्रवर्तकहरू कसैले विभिन्न किसिमका व्यावहारिक अनुसन्धानहरू गरेर विभिन्न किसिमका उपयोगी बस्तु वा सेवाका राम्रा राम्रा नमुनाहरू (प्रोटोटाइपहरू) बनाउनु भएको छ र श्रोत साधनको अभावमा सो काम अगाडि बढाउन सक्नु भएको छैन भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले तपाईँहरूले बनाउनु भएको नमुना हेरेर आवश्यक सहयोग गर्ने छ ।”
नयाँ मन्त्रालय भएकाले कानुनी र संस्थागत संरचना बलियो लागिपरेका मन्त्री पुनले विदेशमा रहेका नेपाली वैज्ञानिक र विशेषज्ञहरूलाई स्वदेश फर्कन आह्वान गर्दै विश्वविद्यालयहरूमा 'इन्नोभेसन ल्याबोरेटरी' र सार्वजनिक 'इन्नोभेसन हब' बनाउने योजना अघि पनि सारेका छन् ।
व्यवहारिक अनुसन्धानलाई बजार र उत्पादनसँग जोड्ने लक्ष्य राखेको मन्त्रालयले हाल नयाँ 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन' निर्माणको कामलाई तीव्रता दिएको छ ।
मन्त्री पुनले स्थानीय र प्रदेश तहलाई समेत आफ्नो पुँजीगत खर्चको १ प्रतिशत रकम अनुसन्धान र नवप्रवर्तनमा लगानी गर्न आग्रह गरेका छन् ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८३ ९:१५
