‘नयाँ सिक्काबाट नेपालको चुच्चे नक्सा हट्ने हल्ला गलत, बरु आकाश भैरवको आकृति पनि थप्दै छौँ’
साउन १२, २०८३ १२:५२
काठमाडौं । सरकारले एक र दुई रुपैयाँका सिक्काको मौजुदा डिजाइन परिवर्तन गर्ने तयारी गरेसँगै सञ्चारमाध्यम र सामाजकि सञ्जालमा विभिन्न दाबी भाइरल भएका छन् । गत असार ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी (मिन्टिङ) गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
यस निर्णयलगत्तै केही माध्यममा ‘सरकारले नयाँ सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको’ भन्दै सामग्री भाइरल भए । केही दिनयता सामाजिक सञ्जालमा नयाँ सिक्काको दाबी गर्दै विभिन्न काल्पनिक तस्बिर र भिडिओहरू पोस्ट भइरहेका छन् ।
शनिबार राति प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहले फेसबुकमा सिक्काको एउटा डिजाइन शेयर गरेका छन् । उक्त डिजाइनमा नेपालको चुच्चे नक्सा र आकाश भैरवको आकृति देखिन्छ ।
यद्यपि, उनले उक्त डिजाइन आधिकारिक हो वा होइन र यो कुन दरको सिक्का हो भन्ने स्पष्ट खुलाएका छैनन् । सोही तस्बिरका आधारमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न अड्कलबाजी र टिप्पणी गरेका छन् । हेर्नुहोस् शाहले फेसबुक स्टोरीमा पोस्ट गरेको तस्बिरको स्क्रिनशटः

३२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकलाई नयाँ डिजाइनका एक र दुई रुपैयाँ सिक्का टकमरी (छाप्न) गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको थियो । राष्ट्र बैंक ऐन २०५७ मा कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्दा वा डिजाइन परिवर्तन गर्दा त्यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ ।
त्यसपछि अनलाइन सञ्चारमाध्यम ‘शिलापत्र’ सञ्चारमाध्यमले ५ साउनमा 'एक रुपैयाँको सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयपछि भारतीय मिडियाले लेखे– झुका नेपाल' शीर्षकको समाचार प्रकाशित गरेको छ । भारतीय सञ्चारमाध्यम ‘आजतक’ को समाचारलाई उद्धृत गर्दै शिलापत्रले उक्त सामग्री तयार पारेको हो । समाचारको अन्तिम अनुच्छुदमा लेखिएको छ,
“नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले एक रुपैयाँको सिक्कामा रहेको नेपालको नक्सा हटाएर मुस्ताङको घार गुम्बा राख्ने निर्णय गरेको छ । उक्त निर्णयको नेपालमा समेत विरोध भइरहेको छ । त्यो गुम्बा अमेरिकी सहयोगमा बनेको हुँदा नयाँ सरकारले बढी महत्त्व दिएको केहीको तर्क छ भने केहीले लिम्पियाधुरा–लिपलेकसहितको नक्सा सिक्काबाट हटाएर आफ्नो भारतले मिचेको आफ्नो जमिन दाबीको मुद्दा कमजोर बनाइएको आरोप लगाएका छन् ।” हेर्नुहोस्, आर्काइभ र लिङ्क ।
चुच्चे नक्सा भएको सिक्का हटाउँदै मुस्ताङको घार गुम्बा राख्न लागेको दाबीसहित ‘Himali Patrika’, ‘Motivate News’ (जुन हाल डिलिट गरिएको छ तर अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले डाउनलोड गरेर शेयर गरेका छन्) DNA Khabar, Pratipakshi लगायतले समेत भिडिओ र फोटो सामाग्री पोस्ट गरेका छन् ।
यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले अनलाइनमा फैलिएका दाबीहरूको खण्डन गर्दै सिक्काबाट चुच्चे नक्सा हटाएर मुस्ताङको घार गुम्बा राख्ने हल्ला वास्तविक नभएको दाबी गरेका छन् । उनले टेकपानासँग भने, “चुच्चे नक्सा नराख्ने भन्ने निर्णय भएकै छैन । बरु चुच्चे नक्साका साथै आकाश भैरवको आकृति समेत थप गरेर नयाँ डिजाइन स्वीकृत भएको हो ।” अर्यालका अनुसार असार ३२ को मन्त्रिपरिषद्ले चुच्चे नक्सा र आकाश भैरव समावेश भएको डिजाइनलाई नै प्रक्रियामा लगिसकेको छ ।
यसरी प्रधानमन्त्रीका सल्लाहकार शाहले नै शेयर गरेको सिक्काको तस्बिर नै प्रस्तावित डिजाइन भएको अनुमान गरिएको छ ।
शाहले सार्वजनिक गरेको सिक्काको डिजाइनमा ६४ वटा थोप्ला देखिन्छन् । जसलाई नेपाली सिक्काको परम्परागत ‘चौसट्ठी योगिनी’ को प्रतीक मानिन्छ । तर, सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनले सिक्का समातेको देखिने, ७० भन्दा बढी थोप्ला भएका र त्रुटिपूर्ण अक्षर भएका एआई सिर्जित तस्बिरहरू भाइरल भएका छन् ।
‘किरण जङ्ग सिवाल’ नामक फेसबुक अकाउन्टले २६ जुलाई (आइतबार) बिहान ७ः३९ मा सार्वजनिक गरेको एक भिडिओमा प्रधानमन्त्री शाह जस्तो देखिने व्यक्तिले बोलेको जस्तो देख्न सकिन्छ । जसमा नयाँ एक रुपैयाँको सिक्का कस्तो लाग्यो भन्ने प्रश्न सोधिएको छ । हेर्नुहोस् भिडिओ ।

तर, यो भिडिओ वास्तविक होइन । एआई डिटेक्सन टुल हाइभ मोडेरेसनले यो भिडिओ ९९.९ प्रतिशत एआई निर्मित रहेको देखायो ।

त्यस्तै, Mukunda Dhungana, Bogati Tekendra, SMRIT NEWS SERVICE लगायतका फेसबुक पेज र प्रयोगकर्ताले आकाश भैरवको चित्र समावेश गरिएको नेपालको चुच्चे नक्सासहित ‘मे.सं ११४४’ लेखिएको तस्बिर नयाँ सिक्का भएको दाबी गर्दै पोस्ट गरेका छन् । सो तस्बिरमा ने. सं (नेपाल संवद) लेख्न खोजिएपनि मे. सं ११४४ देख्न सकिन्छ ।
तर अहिले नेपाल संवद पनि ११४४ नभई ११४६ हो । हामीले यी पेजहरूले शेयर गरेका तस्बिरहरू ‘सिन्थ आईडी’ डिटेक्सन टुलमा राखेर जाँच गर्दा गुगल एआईबाट बनेको पुष्टि भएको छ । केही तस्बिरमा गुगलको जेमिनाईको लोगो स्पष्ट रूपमा देखिएको छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८३ १३:२२
