काठमाडौं । युट्युबले कम्युनिटी पोस्ट गर्नका लागि आवश्यक सब्सक्राइबर संख्या आधाले घटाएको छ । कम्पनीले आउँदो अक्टोबर १२ देखि लागु हुने गरी बिहीबार यस्तो घोषणा गरेको हो ।
यससँगै अब एक हजार सब्सक्राइबरको साटो तपाईंलाई पाँच सयभन्दा माथि सब्सक्राइबर भए पुग्नेछ । ट्वीटमार्फत युट्युबले भनेको छ कि यसबाट दशौँ लाख थप च्यानलहरूले यो फिचर प्रयोग गर्न पाउनेछन् ।
Community posts are coming to millions more channels!!
Starting October 12, 2021, we’re lowering the eligibility threshold for Community posts to channels with 500+ subscribers: https://t.co/66SEhZ33ML
युट्युबको कम्युनिटी पोस्ट यस्तो फिचर हो, जसबाट तपाईंले फेसबुकमा समाचार वा स्टाटस राखेजस्तो युट्युब च्यालनमा पनि पोस्ट गर्न सक्नुहुन्छ । यसका लागि क्रियटरको प्रोफाइलमा डेडिकेटेड कम्युनिटी ट्याब दिइएको हुन्छ ।
कहिलेकाहीँ तपाईंले त्यसलाई होम वा सब्सक्रिप्सन ट्याबमा समेत देख्न सक्नुहुनेछ । डिस्कसन ट्याबलाई विस्थापन गर्न यो फिचर डिजाइन गरिएको थियो । जुन अक्टोबर १२ देखि सबै च्यानलबाट औपचारिक रुपमा हट्नेछ ।
कम्युनिटी पोस्ट फिचर प्रयोग गर्न चाहने ५०० भन्दा कम सब्सक्राइबर भएका क्रियटरलाई समेत केही आशा जागेको छ । भविष्यमा त्यस्ता क्रियटरका लागि समेत यो फिचर उपलब्ध गराउन काम भइरहेको युट्युबले जनाएको छ । कम्पनीका अनुसार तपाईंले ५०० सब्सक्राइबरको थ्रेस होल्ड पुरा गरिसक्नु भएको छ भने पनि कम्युनिटी पोस्ट गर्न एकहप्ता जति कुर्नुपर्ने हुनसक्छ ।