काठमाडौं । भारतीय सरकारले दूरसञ्चार सेवाप्रदायकलाई लक्षित गर्दै राहत प्याकेज सार्वजनिक गरेसँगै भोडाफोन आइडियाले सेवा विस्तारका लागि लगानी थप गर्ने भएको छ ।
जिओ, एयरटेल जस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्दा टाट पल्टिएको भोडाफोनले अब भने सेवा विस्तारमा लगानी गर्ने भएको हो । भोडाफोन आइडियाका प्रवर्द्धक भोडाफोन पीएलसी र आदित्य बिर्ला ग्रुपले एकैपटक एक खर्ब ६० अर्ब भारू लगानी भित्र्याउने तयारी गरेका हुन् ।
हुन त यसअघि पनि भोडाफोनले साढे दुई खर्ब भारू भित्र्याउने योजना बनाएको थियो । तर, त्यसमा असफल हुँदा कम्पनीको स्थिति अझ बढी नाजुक भएको थियो ।
अघिल्लो सातामात्र सरकारले भोडाफोनलाई नै लक्षित गर्दै राहत प्याकेज जारी गर्यो । त्यसले भोडाफोनजस्ता कम्पनीलाई धेरै नै राहत हुने अपेक्षा गरिएको छ ।
भारतको मन्त्रिपरिषद्ले दूरसञ्चार क्षेत्रमा नौ ओटा ठूला सुधार र पाँच ओटा प्रक्रियागत सुधारको निर्णय गरेको छ । जसमा बक्यौता तिर्नुपर्ने म्यादमा लचिलो हुने विषय समेत रहेको छ ।
भारतले लगातार घाटामा रहेको भेडाफोन आइडिया लिमिटेडलाई राहत हुने गरी उसले तिर्नुपर्ने बक्यौता र त्यसको व्याज तिर्न चार वर्षको म्याद थपिदिएको छ । यो सुविधा अन्य सेवाप्रदायकले पनि पाउनेछन् ।
भारतका अन्य मुख्य दूरसञ्चार सेवा प्रदायक लगातार नाफामा जाँदा पनि भोडाफोन भने केही वर्षयता लगातार घाटामा छ । यसबाहेक, मन्त्रिपरिषद्ले दूरसञ्चार कम्पनीले केन्द्र सरकारलाई आफ्नो आयको आधारमा तिर्नुपर्ने रकमको परिभाषा समेत परिवर्तन गरिदिएको छ ।
भोडाफोनले सरकार र बैंकलाई गरी २८ खर्ब ८० अर्ब रुपैयाँ तिर्नुपर्ने छ । भोडाफोनले भारत सरकारलाई मात्रै २४ खर्ब रुपैयाँ बुझाउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।