close

को हुन् ट्विटरका नयाँ सीईओ पराग अग्रवाल ?

टेकपाना टेकपाना

मंसिर १५, २०७८ १०:३०

को हुन् ट्विटरका नयाँ सीईओ पराग अग्रवाल ?

ज्याक डोर्सीले ट्विटरको पद छाडेलगत्तै भारतीय मूलका अमेरिकी नागरिक पराग अग्रवाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा आएका छन् ।

१५ वर्ष ट्विटरको नेतृत्व गरेका डोर्सीपछि ट्विटरको नेतृत्वमा आएका अग्रवालबारे पछिल्लो समय बढी नै सोधीखोजी हुन थालेको छ । ट्विटरमा ईन्जिनियरको रुपमा काम सुरु गरेका अग्रवाल ठूला प्रविधि कम्पनीका कान्छा नेतृत्वकर्तामध्येमा पर्छन् ।

अग्रवालले ट्विटरको ईन्जिनियरको रुपमा सन् २०११ मा काम सुरु गरेका थिए । उनी सन् २०१७ मा ट्विटरको प्रमुख प्राविधिक अधिकृतमा बढुवा भएका थिए । ट्विटरमा रहँदा उनले ज्याक डोर्सीसँग नजिक रहेर काम गरेका थिए भने नयाँ भूमिकामा पनि उनले डोर्सीको योजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।

३७ वर्षीय अग्रवालले ट्विटरमा रहँदा ट्विटरका महत्वकांक्षी परियोजनाको नेतृत्व पनि गरेका थिए । उनले ट्विटरमा रहेर क्रिप्टोकरेन्सी, मेशिन लर्निङ, क्लाउड टेक्नोलोजीजस्ता परियोजनाहरुमा काम गरिसकेका छन् । ट्विटरका सहसंस्थापक डोर्सी क्रिप्टोकरेन्सीप्रति बढी नै महत्वकांक्षी मानिन्छन् ।

भारतको राजस्थानमा सन् १९८४ मा जन्मिएका अग्रवालले ट्विटरमा काम गर्नुअघि माइक्रोसफ्ट र याहूमा पनि विभिन्न अध्ययन र अनुसन्धान परियोजनामा काम गरिसकेका छन् ।

अग्रवालले सन् २००१ मा टर्कीमा भएको अन्तर्राष्ट्रिय फिजिक्स ओलम्पियाडमा गोल्ड मेडल जितेका थिए । उनले सन् २००५ मा भारतको प्रतिष्ठित आईआईटी मुम्बईबाट ब्याचलर ईन टेक्नोलोजीको पढाई पूरा गरेका थिए । उनी स्ट्याण्डफोर्ड यूनिभर्सिटीबाट कम्युटर साइन्समा पीएचडी पूरा गर्न अमेरिका पुगेका थिए ।

अग्रवालको आगामी चुनौति ट्विटरलाई अभिव्यक्ति स्वतन्त्रताको लागि उत्कृष्ट प्लेटफर्म बनाउने वा गलत जानकारी फैलन नदिने प्लेटफर्मको रुपमा अघि बढाउने भन्ने चुनौति हुनेछ । अमेरिकी पूर्व राष्ट्रपतिले गलत सूचना फैलाएको भन्दै आफ्नो प्लेटफर्मममा प्रतिबन्ध लगाउने ट्विटर पहिलो कम्पनी थियो । धेरैले यो कदमलाई अभिव्यक्ति स्वतन्त्रता विरोधी निर्णय भनेर आलोचना पनि गर्ने गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२