काठमाडौं । नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल-स्वदेशी’ अभियानको एप र वेबसाइट सार्वजनिक गरेको छ ।
नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि, सोको प्रवर्द्धन र उपभोग वृद्धि गरी विश्व बजारमा निर्यात गर्न सघाउने उद्देश्यका साथ अघिल्लो वर्षबाट यो अभियान सुरु भएको थियो ।
सोही अभियानलाई सार्थकता दिने उद्देश्यका साथ परिसंघले वेबसाइट तथा एप सार्वजनिक गरेको हो । जसमार्फत नेपालमा औद्योगिकरण विस्तार तथा रोजगारी सिर्जना गर्ने सकिने विश्वास परिसंघको रहेको छ ।
परिसंघका अनुसार एप र वेबसाइटले धेरैभन्दा धेरै स्वदेशी उद्योगीलाई यो अभियानमा जोड्न सघाउ पुर्याउने छ ।
अभियानको मुख्य उद्देश्य नेपाली उत्पादन वृद्धि गरी आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माण गर्न सहयोग गर्नु, नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनको उपभोग गर्न प्रोत्साहन गर्नु रहेको छ ।
साथै नेपाली उत्पादनको बजारीकरण गरी विश्व बजारमा नेपाली वस्तु र सेवाको उपलब्धता बढाउनु, देशभित्रै रोजगारीको पर्याप्त अवसर सिर्जना गर्नु रहेको छ ।
यो अभियानमा सरकार र निजी क्षेत्र दुवै समन्वयात्मक रूपमा काम गरिरहेका छन् ।