काठमाडौं । बैंकिङ ट्रोजनका कारण विश्वका लाखौं एन्ड्रोइड प्रयोगकर्ताको बैंकिङ विवरण चोरी भइरहेको पाइएको छ । साइबर सुरक्षासम्बन्धी अध्ययन गर्ने एक संस्थाले तीन लाख एन्ड्रोइड डिभाइसमा यस्ता बैंकिङ ट्रोजन मालवेयर एप फेला पारेको हो ।
थ्रेट फ्याब्रिक नामक सो संस्थाले हालै सार्वजनिक गरेको नोभेम्बर महिनाको प्रतिवेदनअनुसार तीन लाखभन्दा बढी एन्ड्रोइड प्रयोगकर्ताको डिभाइसमा बैंकिङ ट्रोजनमार्फत मालवेयर डाउनलोड भएको छ ।
लामो समयदेखि साइबर अपराधीहरूले विभिन्न बैंकिङ ट्रोजन प्रयोग गरी प्रयोगकर्तालाई असर पार्न सफल हुँदै आएका छन् । सोही उपाय अपनाएर यो पटक पनि तीन लाख बढी प्रयोगकर्तालाई निशाना बनाइएकाे प्रतिवेदनमा उल्लेख छ ।
थ्रेट फ्याब्रिकका अनुसार उक्त मालवेयरमार्फत ह्याकरले प्रयोगकर्ताको युजर अकाउन्ट, पासवर्ड जस्ता विभिन्न महत्वपूर्ण जानकारी संकलन गरिरहेका छन् ।
‘गुगल प्ले स्टोरमा यस्ता एप पूर्णरुपमा सुरक्षित देखिन्छन्,’ थ्रेट फ्याब्रिकले भनेको छ, ‘जब तपाईंले उक्त एप डाउनलोड गर्नुहुन्छ, तब ह्याकरले त्यसको अपडेट उपलब्ध गराउँछ । उक्त अपडेटसँगै मोबाइलमा मालवेयर पठाउने गरिन्छ ।’
त्यस्ता एपमा क्यूआर कोड स्क्यानर, पीडीएफ स्क्यानर, क्रिप्टोकरेन्सीसँग सम्बन्धित एप रहेको जनाइएको छ ।