काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले एउटै क्षमतामा ब्याट्री अझ धेरै टिक्ने प्रविधिको विकास गरेको छ । यसको अर्थ हाल प्रयोगमा आएको ५००० एमएएच क्षमताको ब्याट्री टिक्ने समय र नयाँ प्रविधिमा आधारित ५००० एमएएच क्षमताको ब्याट्री टिक्ने समयमा अब फरक हुनेछ ।
सार्वजनिक भएको एक जानकारी अनुसार कम्पनीले निर्माण गरेको नयाँ प्रविधिले पुरानो ब्याट्रीको तुलनामा नयाँ ब्याट्री १० प्रतिशत बढी टिक्नेछ । हाई सिलिकन ब्याट्री प्रविधिमा आधारित भएर कम्पनीले यसको निर्माण गरेको हो ।
कम्पनीले ब्याट्रीमा हाल उपलब्ध हुने सिलिकनको भ्यालुमा थप तीन लेयर थप गरेको जनाइएको छ । यसले एउटै क्षमताको पुरानो ब्याट्री र नयाँ ब्याट्रीमा सय मिनेटको फरक हुनेछ ।
यसको अर्थ नयाँ ब्याट्री थप १०० मिनेट बढी टिक्नेछ । हुन त कम्पनीले हालसम्म यो प्रविधिको विषयमा आधिकारिक जानकारी भने दिइएको छैन । तर, पनि यसले ब्याट्री उद्योगमा नयाँ आयाम ल्याउने अनुमान गरिएको छ ।