काठमाडौं । अडियो प्लेटफर्मको रुपमा निकै नै चर्चा कमाएको ‘क्लबहाउस’ अहिले सुस्ताएको छ । २०२० देखि सुरु भएको क्लबहाउसको प्रयोग २०२१ को सुरुवातसँगै तीव्र रुपमा वृद्धि भएको थियो ।
यो प्लेटफर्मले टेक्स्ट अथवा तस्वीरलाई भन्दा पनि अडियोलाई बढि प्राथमिकता दिएर अघि बढेको थियो । लकडाउनको समयमा धेरै मानिसबीच सम्पर्कमा बस्नका लागि अथवा कुनै विषयमा छलफल गर्न यो प्लेटफर्म एकदम चर्चित भएको थियो ।
यद्यपि यो वर्ष सकिँदै गर्दा क्लबहाउसको लोकप्रियता पनि घट्दै गएकाे छ । एकातिर क्लबहाउसले जस्तै अडियो प्लेटफर्म मेटा तथा ट्वीटर जस्ता प्रतिस्पर्धी कम्पनीहरूले पनि सुरु गरेका छन् भने अर्कोतिर क्लबहाउसको डाउनलोड संख्या पनि कम हुँदै गएको छ ।
यसलाई कुनै पनि स्टार्टअपको उतारचढावको समय भन्दै ठूला कम्पनीहरूले आफ्नो प्लेटफर्मको नक्कल गरेपनि क्लबहाउसलाई कुनै प्रभाव नपरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पल डेभिसनले बताएका छन् ।
क्लबहाउसलाई पैसाको कमी नभएको भन्दै उनले लगानी पर्याप्त भएकोले पनि केही चिन्ता गर्नुनपर्ने प्रतिक्रिया दिए । आउने दिनमा क्रियटरहरूलाई पैसा कमाउने सुविधा पनि उपलब्ध गराउने र यसैको माध्यमबाट आफ्नो व्यवसायको लागि पनि आम्दानी बढाउने तयारी पनि रहेको उनले बताएका छन् ।
यद्यपि यस विषयमा थप तयारी गर्न बाँकी रहेको भन्दै उनले फाइनान्सियल टाइम्ससँग बताएका थिए । उनले क्लबहाउसलाई लगानीको समस्या नभएको पनि बताएका छन् ।
डेभिसनले भने जस्तै क्लबहाउसलाई पैसाको कमी हाल नहोला, तर दीर्घकालीन विकासका लागि भने यो प्लेटफर्म उत्तिकै चर्चामा रहिरहन सक्छ वा सक्दैन भन्ने प्रश्न महत्त्वपूर्ण छ । त्यसमाथि महामारीकै कारण मात्र क्लबहाउस चलेको थियो भन्ने सोचलाई पनि क्लबहाउसले गलत सावित गर्नसक्ने छ वा छैन, त्यो त भविष्यमा नै थाहा होला ।
किनभने क्लबहाउसलाई एउटा अडियो प्लेटफर्मबाहेक अन्य सेवा विस्तार गरेर लाने कुनै योजना नभएको उनले बताएका छन् । क्लबहाउसलाई आफ्नो प्रतिस्पर्धी कम्पनीले खरिद गर्न खोजेको अथवा कम्पनी आफैले यो प्लेटफर्म बेच्न खोजेको हो भन्ने विषयमा भने उनले केही पनि बताएका छैनन् ।
क्रिप्टोकरेन्सी बिक्री तथा खरिद गर्ने प्लेटफर्म ‘कोइनलिस्ट’ का पूर्वप्रमुख ४२ वर्षिय डेभसनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातक गरेका रोहन सेठसँगको सहकार्यमा २०२० को मार्चबाट क्लबहाउस सुरु गरेका थिए ।
बजारमा क्लबहाउस सुस्ताएको जस्तो देखिए पनि कम्पनीले यसको लागि काम गरिरहेको भन्दै हालै कम्पनीमा काम गर्ने कर्मचारी ९० जना पुगेको पनि उनले बताए । सुरुवातमा क्लबहाउसमा नौ जना मात्र कर्मचारी थिए ।