काठमाडौं । अमेरिकी कम्पनी एप्पलको बजार मूल्य ३० खर्ब डलर अर्थात् आजको विनिमय दरअनुसार नेपाली ३५६९ खर्ब ७० अर्ब रूपैयाँ पुगेको छ । यो नेपालको वार्षिक बजेटभन्दा करिब २१७ गुणा बढी हो ।
चालू आर्थिक वर्ष २०७८/७९ का लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले कूल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका थिए ।
अमेरिकी स्टक एक्सजेन्चमा एप्पलको शेयर बजार मूल्य सन् २००७ पछि ५८०० प्रतिशतले बढेको छ । कोरोना महामारीका बेला पनि एप्पलको ग्याजेटहरुको बिक्री बढेको छ ।
‘एप्पल कम्पनीका लागि ३० खर्ब बजार मूल्य पुग्नु भनेको अहिलेसम्मकै ऐतिहासिक हो । यसले आलोचकहरुको भनाइ पनि गलत सावित गरिदिएको छ,’ एक विश्लेषकले भने ।
१६ महिनाको अवधिमा एप्पलको स्टक मार्केट भ्यालु २० खर्बबाट ३० खर्ब डलर पुगेको हो । लकडाउनका बेला पनि एप्पलका फोन, ट्याब्लेट र ल्यापटपहरुको बिक्री बढेको थियो ।
सन् २०१८ को अगस्टमा एप्पल पहिलो पटक १० खर्ब डलर कम्पनीको सूचीमा पुगेको थियो । चार वर्षको अन्तरालमा एप्पल ३० खर्ब डलर कम्पनी बनेको हो ।
एप्पल कम्पनी सन् १९७६ मा स्टिभ जब्ससहित स्टिभ वोजिनाइक र रोनाल्ड वाइनेले स्थापना गरेका थिए । स्टक मार्केटमा भने एप्पल सन् १९८० मा प्रवेश गरेको थियो । त्यसबेला कम्पनकी बजार मूल्य १.८ अर्ब डलर थियो ।