काठमाडौं । एप्पलले आईओएस १५ सार्वजनिक गरेको लामो समय भइसक्यो । सार्वजनिक भए देखि नै विभिन्न कमजोरीहरू फेला परेको भएता पनि हालसम्म समाधान हुन नसकेको जनाईएको छ ।
कम्पनीले समय(समयमा विभिन्न अपडेटमार्फत आईओएस १५ को बग समाधान गर्दै आइरहेको भएता समस्या समाधान हुन सकेको छैन् । यसै बिच यद्यपि पुनः आईओएस १५.०.२ मा बग फेला परेको छ ।
जसले आईफोनलाई पूर्णरुपमा क्रयास गरिदिन सक्ने र फोनलाई रिस्टोर गरेपछि पनि काम नलाग्ने बनाउन सक्ने जनाइएको छ । कम्पनीले यो बग जतिसक्दो छिटो समाधान गर्ने प्रतिबद्धता जनाएको छ । ट्रेभर स्पाइनिओलस नामक सेक्युरिटी रिसर्चरले यो बग पत्ता लगाएको हो ।
जसलाई होमकिट एपीआई प्रयोग गरी फोनलाई संक्रमित बनाउन सकिन्छ । आक्रमण गर्ने व्यक्तिले यो बगको फाइदा उठाएर लक्षित गरिएको आईफोनको एपीआई प्रयोग गरी प्रयोगकर्ताको होमकिट नाम परिवर्तन गर्न सक्छ ।
होमकिट एप्पलले विकास गरेको एउटा सफ्टवेयर हो, जुन आईओएस र आईप्याडओएसमा उपलब्ध छ । यो सफ्टवेयरले एप्पल डिभाइसहरू, एप्पलको होम डिभाइसहरू नियन्त्रण गर्न तथा सहजै प्रयोग गर्न मद्दत गर्छ ।
ट्रेभरका अनुसार आक्रमण गर्ने व्यक्तिले होमकिटको नाम पाँच लाखवटा लामा शब्दहरू प्रयोग गरिएको नाममा पनि परिवर्तन गर्नसक्ने बताएको छ । यदि प्रयोगकर्ताले घरमा प्रयोग हुने उपकरणहरू होमकिटको कन्ट्रोल सेन्टर मार्फत इनेबल गरेको छ भने प्रयोगकर्ताको आईफोन क्रयास भई नचल्ने हुनसक्ने जनाईएको छ ।
साथै फोन रिबुट अथवा रिस्टोर गर्दा प्रयोगकर्ताले आफ्नो पुरानो आईक्लाउड अकाउन्टमा लगइन गर्न नसक्ने उनले बताएका छन् । यो बगको विषयमा ट्रेभरले २०२१ को अगस्टमा नै एप्पललाई रिपोर्ट गरेको थियो । तर कम्पनीले तत्काल प्रतिक्रिया नदेखाएकोमा उनले आलोचना गरेका छन् । यसले लाखौं आईफोन प्रयोगकर्तालाई जोखिममा पार्नसक्ने उनको भनाइ छ ।