close

गुगल प्ले स्टोरबाट ४८ घण्टासम्म कहाँ गएको थियो खल्ती ? यस्तो छ कम्पनीको स्पष्टीकरण

टेकपाना टेकपाना

पुस २६, २०७८ २०:५

गुगल प्ले स्टोरबाट ४८ घण्टासम्म कहाँ गएको थियो खल्ती ? यस्तो छ कम्पनीको स्पष्टीकरण

काठमाडौं । शुक्रबारदेखि गुगल प्ले स्टोरबाट हराएको डिजिटल वालेट खल्तीको मोबाइल एप ४८ घण्टापछि पुनः फिर्ता भएको छ । खल्तीले ब्लगमार्फत त्यसको स्पष्टीकरण दिएको छ । गुगल प्ले डेभलपर प्रोग्राम पोलिसी’ का कारण यस किसिमको समस्या देखिएको कम्पनीको भनाई छ ।

‘एप कन्टेन्ट’ भित्र रहेको ‘एप एक्सेस’ सेक्सनमा उल्लेख भएअनुसार ‘लगईन क्रेडेन्सियल, मेम्बरशिप, लोकेसन अथवा अन्य किसिमका अथेन्टिकेसनका आधारमा एप सीमित गरिएको छ भने त्यसमा कसरी एक्सेस अर्थात् पहुँच प्राप्त  गर्न सकिन्छ  भन्ने विषयमा निर्देशन उपलब्ध गराउनु’ पर्ने हुन्छ ।

गएको शुक्रबार साँझ ५ः१२ बजे खल्तीले गुगल प्ले स्टोरमा नियमित एप अपडेट पठाएको थियो । ब्लगअनुसार त्यस लगत्तै गुगल प्ले स्टोरबाट खल्ती एप डिसेबल (निस्क्रिय) गरिएको ई-मेल आएको थियो । ‘हाम्रा लागि त्यस किसिमको सूचना अस्वभाविक थियो,’ ब्लगमा अगाडि भनिएको छ, ‘उक्त ईमेलमा डिसेबल हुनुको कारण सहित त्यसलाई कसरी फिक्स (समाधान) गर्ने भन्ने विवरण समेत उल्लेख थियो ।’

खल्तीले गुगललाई पहिले पठाएको एप लगईन इन्स्ट्रक्सन (निर्देशिका) परिवर्तन भइसकेको थियो र त्यसै कारणले उनीहरूले एपमा लग-ईन गर्न सकेनन् । त्यसको केही मिनेटपछि पालना गर्नुपर्ने चरणहरू उल्लेख गर्दै खल्तीले लगईन इन्स्ट्राक्सन अपडेट पठाएको थियो । गुगलले यस किसिमको अवस्थामा रिभ्युका लागि ७ दिनसम्म लाग्ने उल्लेख गरेको थियो । तर पनि आफूहरूले केही घन्टाभित्रै समस्या समाधान हुने अपेक्षा गरेको खल्तीले जनाएको छ ।

‘तर यो सबै हप्ताको अन्त्यतिर भएका कारणले हुनुपर्छ, त्यसका लागि हामीले अपेक्षा गरेभन्दा धेरै समय लाग्यो । भाग्यवस ७ दिन नभएर ४८ घण्टामै फिर्ता भयो, त्यसका लागि गुगल प्ले स्टोर टिमप्रति आभारी छौँ,’ खल्तीको ब्लगमा अगाडि भनिएको छ । ‘यस घटनाबाट आफूहरूले कहिलेकहीँ साना साना विषयले समेत अस्तव्यस्तता सिर्जना गरिदिने तथा धैर्यता र उचित मार्गनिर्देशनले त्यसलाई समाधान पनि गरिदिन्छ ।’

‘सामुदायिक हिसाबले हामी यस किसिमका अनुभव आदानप्रदान गर्न डेभलपरहरूलाई हौसला दिन चाहन्छौँ, ता कि हामीले एक आपसबाट सिक्न सकौँ । हाम्रा ग्राहकको अनुभव र परिवर्तित वातावरण अनुरूप हामी निरन्तर रुपमा एपलाई नियमित रुपमा अपग्रेड गरिरहेका छौँ । आविष्कार र केही नयाँ गर्नका लागि हामीले हाम्रो टिमलाई सधैँ प्रोत्साहन दिने गर्दछौँ । यद्यपि कहिलेकाहीँ झेल्नुपर्ने यस किसिमका धक्काहरूले हामीलाई थप सतर्क र चनाखो बनाउँछ,’ खल्तीले भनेको छ। 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२