काठमाडौं । डाइरेक्ट टु होम (डीटीएच) सेवाप्रदायक डिशहोमले आफ्ना ग्राहकलाई स्मार्ट बनाउने उद्देश्यका साथ ‘फोरके स्ट्रिमर’ बजारमा ल्याएकाे छ ।
नेपालको ग्रामीण भेगसम्म डीटीएच मार्फत टेलिभिजन पुर्याउन ठूलो योगदान गरेको कम्पनीले अब ग्राहकलाई थप नयाँ प्रविधि उपलब्ध गराउने भएको हाे ।
कम्पनीले पछिल्लो समय इन्टरनेटका साथ अन्य थुप्रै सेवा विस्तारमा काम गरिरहेको छ । यसै क्रममा कम्पनीले स्ट्रिमिङ डिभाइस ‘डिशहोम फोरके स्ट्रिमर’ सार्वजनिक गरेको छ ।
जसको मद्दतले नन-स्मार्ट टेलिभिजनलाई पनि स्मार्ट टिभी जसरी नै प्रयोग गर्न सकिने कम्पनीले जनाइएको छ ।
कम्पनीकाे टेक्निकल अप्रेसनका जनरल म्यानेजर सचिन बस्यालका अनुसार ‘डिशहोम फोरके स्ट्रिमर’ ले प्रयोगकर्ताको घरमा रहको जुनसुकै टिभीलाई पनि फोरके रिजोलुसन सहितको स्मार्ट टिभीमा परिणत गर्नेछ ।
यसको अर्थ जसरी फोरके रेजोलुसन सहितको स्मार्ट टिभीले काम गर्छ, त्यसरी नै यो डिभाइसको मद्दतले पुराना टिभीलाई स्मार्ट बनाउन सकिनेछ ।
यसका लागि कम्पनीले गुगल सर्टिफाइड भिडिओ प्लेयर भित्र्याएको हो । एन्ड्रोइड ११ मा आधारित यसमा क्वार्डकोर कर्टेक्स–ए५३ चिपसेट रहेको छ ।
२ जीबी रोम र ८ जीबी र्याम रहेको यस स्ट्रिमरमा गुगल असिस्टेन्ट, प्ले स्टोर तथा क्रोमकास्ट लगायतका फिचर उपलब्ध छन् । जसलाई टिभीमा रहेको एचडीएमआई पोर्टमा कनेक्ट गराई सहजै प्रयोग गर्न सकिने छ ।
जसमार्फत एचडीएमआई पोर्टयुक्त सीटीआर, एलईडी तथा एलसीडी जस्तोसुकै टिभी सेटमा डिशहोम गो, युट्युव, गुगल प्ले, सोनी लिभ, अमेजन प्राइम, हंगामा जस्ता एप प्रयोग गर्न सकिने छ ।
तर, यसमा नेटफ्लिक्स भने उपलब्ध छैन । कम्पनीका अनुसार प्रयोगकर्ताको संख्या बढ्दै जाँदा विस्तारै नेटफ्लिक्स पनि यसमा थपिने छ । यसमा डल्बी अडियो पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ब्लुटुथ, वाई-फाई–५ जस्ता कनेक्टिभिटी फिचर रहेका छन् । जसमार्फत प्रयोगकर्ताले आफ्नो स्मार्टफोन तथा ल्यापटपलाई समेत टेलिभिजनसँग कनेक्ट गराउने सक्नेछन् ।
कम्पनीले टेलिभिजनको सहज प्रयोगका लागि स्मार्ट रिमोट समेत उपलब्ध गराएको छ । जसमा ‘डिशहोम गो’ को छुट्टै बटनसमेत उपलब्ध गराइएको बस्यालले बताए । यसका साथै यसमार्फत प्रयोगकर्ताले स्मार्ट टिभीमा जस्तै गुगल प्ले स्टोरमा उपलब्ध विभिन्न एप डाउनलोड गरि प्रयोग गर्न सक्नेछन् ।
बस्यालका अनुसार प्रयोगकर्तालाई टेलिभिजन हेराइमा नयाँ अनुभव प्रदान गर्ने योजनाका साथ यो प्रविधि भित्र्याइएको हो ।
पहिलो चरणमा यो डिभाइस डिशहोम तथा डिशहोम फाइबर नेट प्रयोगकर्तालाई मात्र उपलब्ध हुनेछ । भने विस्तारै अन्य ग्राहकलाई समेत उपलब्ध गराइने छ ।
हाल बजारमा उपलब्ध भइसकेको यो डिभाइस कम्पनीका डिलरमार्फत खरिद गर्न सकिने छ । जसको बजार मूल्य ७ हजार ९९९ रूपैयाँ तोकिएको छ ।