काठमाडौं । मेटाले विश्वकै सबैभन्दा छिटो चल्नसक्ने एआई सुपर कम्प्युटर ल्याउने भएको छ । मेटाकाे भर्चुअल वर्ल्ड निर्माण योजना ‘मेटाभर्स’ को एउटा हिस्साका रूपमा याे सुपर कम्प्युटर विकास गरिन लागेकाे मेटा/फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् ।
मेटाभर्सको अवधारणा अनुसार भौतिक र डिजिटल संसारलाई भर्चुअल रियालिटी र अगुमेन्टेड रियालिटीमार्फत मिश्रण गर्न उत्कृष्ट एवं शक्तिशाली कम्प्युटिङ पावर चाहिन्छ ।
एआई सुपर कम्प्युटर, जुकरबर्गको मेटाद्वारा ‘एआई रिसर्च सुपरक्लस्टर’ (आरएससी) डब गरिएको छ । जुन अहिले पनि विश्वका छिटो सुपर कम्युटरको पाचौँ स्थानमा छ ।
जुकरबर्ग भन्छन्, ‘हामीले मेटाभर्सका लागि निर्माण गरिरहेकाे परियाेजनालाई ठूलो कम्प्युटिङ पावर चाहिन्छ । आरएससीले खरबौं उदाहरणबाट सिक्नसक्ने, सयौं भाषा बुझ्नसक्ने लगायतका कामलाई नयाँ एआई मोडेल सक्रिय गर्नेछ ।’
साथै आरएससीको मोडेल चाँडै नै तयार हुने बताइएकाे छ । हजारौं प्रोसेसरबाट बन्ने आरएससीले यसको प्लेटफर्ममा हानिकारक सामग्रीको सजिलै संकेत गर्ने पनि अनुसन्धानकर्ताको दाबी छ । यद्यपि मेटाभर्सको सम्पूर्ण सिस्टम तयार हुन भने अझै धेरै समय लाग्ने अनुमान छ ।
मेटाका प्राविधिक कार्यक्रम प्रबन्धक केभिन ली र सफ्टवेयर इन्जिनियर शुभो सेन गुप्ताका अनुसार सुपर कम्प्युटरले विभिन्न देशका गेमरहरू बीचको कुराकानीलाई तुरुन्तै अनुवाद गर्ने क्षमता राख्नेछ ।
सामान्यतया प्रयोगकर्ताको फोनमार्फत पनि विश्वभरका मानिसको ठूला समूहलाई अगुमेन्टेड रियालिटीमा आधारित गेम खेल्न अनुमति दिन सक्छ ।
यसका लागि उपयोगी हेडसेट र चश्माहरू एप्पल र स्नापच्याट जस्ता ठूला कम्पनीमा विकास भइरहेको मेटाका कर्मचारीले बताएका छन् ।