close

पब्जी गेमको लतका कारण १४ वर्षीय बालकले गरे आमासहित परिवारका ४ जनाको हत्या

टेकपाना टेकपाना

माघ १६, २०७८ १०:१२

पब्जी गेमको लतका कारण १४ वर्षीय बालकले गरे आमासहित परिवारका ४ जनाको हत्या

काठमाडौं । अनलाइन गेम पब्जीको गलत प्रभावका कारण १४ वर्षीय एक बालकले आफ्नी आमा, दाइ र दुई दिदीबहिनीलाई गोली हानी हत्या गरेका छन् ।

यो घटना पाकिस्तानको पञ्जाव प्रान्तमा भएको हो । ४५ वर्षीया स्वास्थ्यकर्मी नाहिद मुबारक गत हप्ता लाहोरको काहना क्षेत्रमा आफ्ना २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षका दुई छोरीहरूसँगै मृत फेला परेकी थिइन् ।

अनुसन्धान अनुसार परिवारमा बाँचेका उनै १४ वर्षीय बालक नै हत्यारा भएकाे खुलेकाे छ । नाबालिग भएका कारण प्रहरीले उनको नाम खुलाएको छैन ।

पब्जी अनलाइन गेमको लतमा परेका उनले आफ्नी आमाका साथै दाइ र दिदीबहिनीको हत्या गरेको स्वीकारेकाे प्रहरीले शुक्रबार गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो विज्ञप्ति अनुसार लामो समय अनलाइन गेम खेलेर बिताउँदा उनलाई मनोवैज्ञानिक समस्या देखापरेको छ । छोराले पढाइमा ध्यान नदिने र आफ्नो अधिकांश समय पब्जी खेल्न बिताएको भन्दै आमाले बारम्बार सम्झाउने गर्थिन् ।

श्रीमानसँग सम्बन्धबिच्छेद गरी आमा आफ्ना छोरा छोरीसँग बस्दै आएकी थिइन् ।

घटना भएको दिन पनि आमाले उनलाई पब्जी खेल्न नछाेडेकाेमा गाली गरेकी थिइन् । राति परिवारका सबै सदस्य सुतेपछि ती बालकले कपबाेर्डबाट आमाको पेस्तोल निकालेर एक एक गरी सबैको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५