close

एनसीएचएलको नयाँ रेकर्ड, ६ महिनामै ७८ खर्ब बढीको कारोबार

टेकपाना टेकपाना

माघ १६, २०७८ १७:५१

एनसीएचएलको नयाँ रेकर्ड, ६ महिनामै ७८ खर्ब बढीको कारोबार

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो छ महिनामा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को विभिन्न डिजिटल माध्यमबाट ७८ खर्बभन्दा बढीको कारोबार भएको छ ।

कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो अवधिमा ७८ खर्ब ८९ अर्बको कारोबार भएको हाे । यो अवधिमा तीन करोड ४१ लाख ९० हजार पटक कारोबार भएको तथ्याङ्कमा उल्लेख छ ।

एनसीएचएलले हाल तीनवटा माध्यमबाट सेवा दिइरहेको छ; एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस । यी तीन माध्यममध्ये सबैभन्दा बढी कारोबार एनसीएचएल ईसीसीबाट भएको छ ।

कम्पनीका अनुसार ईसीसीबाट मात्र आर्थिक वर्षको पहिलो ६ महिनामा ८० लाख ६६ हजार पटकको कारोबारमा ५५ खर्ब पाँच अर्बको कारोबार भएको छ ।

एनसीएचल ईसीसी अर्थात इलेक्ट्रोनिक चेक क्लियरिङ सेवामा चेकको तस्वीरमार्फत विद्युतीय भुक्तानी गर्ने गरिन्छ । दोस्रोमा धेरै कारोबार कनेक्ट आईपीएस मार्फत भएको छ ।

सो अवधिमा कनेक्ट आईपिएस मार्फत १३ खर्ब ७० अर्ब रुपैयाँको कारोबार भएको छ, जसका लागि एक करोड ८५ लाख ८४ हजार पटक कारोबार गरिएको थियो ।

तेस्रोमा भने एनसीएचएल आईपीएस रहेको छ । अवधिमा आईपीएस मार्फत ७५ लाख ४० पटक कारोबार हुदाँ १० खर्ब १५ अर्बको कारोबार भएको छ । 

 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५