काठमाडौं । नेटफ्लिक्स र डिज्नी प्लस अहिले धेरै प्रयोगकर्ताको रोजाइमा पर्ने भिडिओ ओटीटी प्लेटफर्म हुन् । युरोपेली बजारमा ठूलो हिस्सा ओगटेको नेटफ्लिक्सले भारतीय बजारमा भने सोचे अनुरूपको सफलता हात पार्न सकेको छैन । तर, त्यही बजारमा डिज्नी सबैभन्दा बढी रुचाइएको प्लेटफर्म बनिरहेको छ ।
हुन त विश्व बजारमा एचबीओ म्याक्स, अमेजन प्राइम जस्ता अन्य दर्जनौं भिडिओ प्लेटफर्म छन् । यस्तोमा सबै सेवा प्रदायक सबैका लागि चुनौती नै हुन् । तर, पनि आगामी दिनमा कुन कम्पनीको रणनीति कस्तो रहन्छ भन्ने विषयले निकै नै अर्थ राख्छ ।
यसैबीच डिज्नीले आफ्नो प्लेटफर्मलाई एकै पटक ठूलो मात्रामा विस्तार गर्ने तयारी गरेको छ । कम्पनीले डिज्नी प्लसलाई विश्वका ४२ देशमा विस्तार गर्न लागेको हो ।
यसअघि सञ्चालनमा आएका देश बाहेक कम्पनीले थप ४२ देशमा आफ्नो सेवा विस्तारको तयारी गरेको छ । जसमा बहराइन, अल्बानिया, अल्जेरिया, कोस्टारिका, इजिप्ट, ओमान, कतार, पोल्याण्ड, टर्की, युएई, साउदी अरेबिया लगायतका देश छन् ।
योसँगै कम्पनीको सब्सक्रिप्सनमा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ । साथै यसरी सेवा विस्तारमा अघि बढ्नु विस्तारै आफ्नो बजार गुमाउँदै गएको नेटफ्लिक्सका लागि सबैभन्दा ठुलो चुनौतीको रुपमा हेरिएको छ ।
डिज्नीका अनुसार हाल कम्पनीका ११ करोड ८१ लाख पेड सब्सक्राइबर छन् । जुन अघिल्लो वर्षको तुलनामा २० लाख बढी हो । अर्कोतर्फ नेटफ्लिक्सका सब्सक्राइबर २२ करोड २० लाखभन्दा बढी छन् ।