काठमाडौं । बजारको नयाँ इन्टरनेट सेवा प्रदायक सीजी नेटले ‘पहिले ट्राइ गरौं अनि सब्सक्राइब गरौं’ ल्याएकाे छ । यसअन्तर्गत ग्राहकले १५ दिनसम्म इन्टरनेटको नि:शुल्क अनुभव गर्न पाउनेछन् ।
अनुभव गरेर मात्र इन्टरनेट जडानको निर्णय लिन सहयोग पुर्याउने उद्देश्यले कम्पनीले यस्तो सुविधा सार्वजनिक गरेको हो । यो सुविधा प्रयोग गर्न ग्राहकले कम्पनीको वेबसाइटमा दर्ता गराउनुपर्नेछ ।
अन्य इन्टरनेट सेवा प्रदायकले सात दिनसम्मका लागि मात्रै फ्री ट्रायलको अवसर दिँदा सीजी नेटले नेपालमै पहिलाे पटक आधा महिनाका लागि यस्तो सुविधा दिएको हो ।
यो सुविधा नयाँ ग्राहकले मात्र लिन सक्नेछन् । सीजी टेलिकमले हाल काठमाडौं उपत्यकाभर आफ्नो सेवा विस्तार गरिरहेको छ ।