close

ओलम्पिक खेलाडीलाई मोबाइल फोन प्रयोगमा रोक !

टेकपाना टेकपाना

माघ २१, २०७८ १२:२९

ओलम्पिक खेलाडीलाई मोबाइल फोन प्रयोगमा रोक !

काठमाडौं । अमेरिकी सुरक्षा निकाय फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले अमेरिकी खेलाडीहरूलाई चीनमा आजेदेखि सुरू हुन लागेकाे ‘विन्टर ओलम्पिक’ मा सहभागी हुन जाँदा मोबाइल साथमा लान प्रतिबन्ध गरेको छ ।

एफबीआईले एक सूचना जारी गर्दै खेलाडीहरूलाई चीनमा हुने विन्टर ओलम्पिकमा सहभागी हुँदा आफ्नो व्यक्तिगत मोबाइल फोन घरमै छोड्न र यदि आवश्यक नै परे वैकल्पिक अथवा अन्य मोबाइल फोन प्रयोग गर्न निर्देशन दिएको छ । 

अमेरिका लगायत अन्य पश्चिमा देशका राष्ट्रिय ओलम्पिक कमिटीहरूले पनि आफ्ना खेलाडीहरूलाई ओलम्पिकमा सहभागी हुँदा व्यक्तिगत फोन नलान आग्रह गरेका छन् ।

साइबर सुरक्षाका कारण यस्तो निर्णय गरेको पश्चिमा देशहरूको भनाइ छ ।

ओलम्पिक भइरहेको समयमा डीडस अट्याक, र्‍यानसमवेयर, मालवेयर आक्रमण, डेटा चोरी, फिशिङ, गलत समचारको अभियान लगायत कुनै पनि साइबर सुरक्षा सम्बन्धित घटना हुनसक्ने बताउँदै खेलाडीहरूलाई व्यक्तिगत मोबाइल बोक्न रोक लगाइएको हो ।

यदि माथि उल्लेखितमध्ये कुनै पनि आक्रमण भएमा त्यसले खेलको प्रत्यक्ष प्रसारणमा प्रभाव पार्नसक्ने, कुनै संवेदनशील डेटा चोरी हुनसक्ने तथा व्यक्तिगत वा सार्वजनिक डिजिटल पूर्वाधारमा प्रभाव पार्नसक्ने कारण देखाउँदै एफबीआईले खेलाडीलाई व्यक्तिगत मोबाइल प्रयोग नगर्न सुझाएको छ ।

साथै खेलाडी र खेल हेर्न जाने सहभागी दुवैलाई कुनै पनि प्रकारको अविश्वसनीय एप्लिकेशन डाउनलोड नगर्न पनि एफबीआईले चेतावनी दिएको छ ।

एफबीआईले खेलसँग सम्बन्धित कारण देखाए पनि यो निर्देशनको पछाडि अमेरिका र चीनबिच जारी प्रविधि सम्बन्धी विवाद नै हो भनेर अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५