close

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको आयु २०३१ मा सकिने, पृथ्वीमा क्रयाश हुने अनुमान

टेकपाना टेकपाना

माघ २१, २०७८ १८:३६

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको आयु २०३१ मा सकिने, पृथ्वीमा क्रयाश हुने अनुमान

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको आयु अब आठ वर्ष मात्र बाँकी रहेको नासाले बताएको छ । एक रिपोर्ट जारी गर्दै नासाले अबको आठ वर्षपछि अर्थात् सन् २०३१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र प्यासिफिक समुन्द्रमा खस्ने बताएको हो ।

प्राय: जसो अन्तरिक्षयानहरू प्यासिफिक समुन्द्रमा नै खस्ने गर्छन्, जसलाई ‘पोइन्ट निमो’ पनि भनिन्छ । त्यसैले पनि यो ठाउँ अन्तरिक्षयानहरूको चिहान भनेर चिन्ने गरिन्छ ।

विश्वका पाँच अन्तरिक्ष एजेन्सीहरू मिलेर सञ्चालन गरिएको यो परियाेजना अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र सन् १९९८ देखि पृथ्वीको कक्ष (अर्बिट) मा अवस्थित छ ।

आजसम्म यसमा उपलब्ध माइक्रोग्रयाभिटी ल्याबाेरेटरीमा ३००० वटा अनुसन्धान सम्पन्न भइसकेका छन् । योसँगै नासाले भविष्यमा पृथ्वी नजिकको अन्तरिक्ष गतिविधिहरू व्यावसायिक क्षेत्रले नेतृत्व गर्ने पनि बताएको छ ।

सन् २०२० मा नासाले टेक्सासको कम्पनी एक्जियोम स्पेसलाई कम्तिमा एउटा मोड्युल राख्न मिल्ने गरी अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोड्न मिल्ने मोड्युल तयार गर्न ठेक्का दिएको थियो ।

त्यस्तै अन्तरिक्ष स्टेशनहरू र कक्षमा अन्य व्यवसायिक गन्तव्यहरूको डिजाइन विकास गर्न तीन कम्पनीलाई अनुदान पनि उपलब्ध गराइएको छ ।

विद्यमान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको आयु सकिनुभन्दा अगाडि नै नयाँ केन्द्रहरू तयार हुने अनुमान गरिएको छ । यसरी निजी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको जिम्मेवारी दिँदा धेरै रकम बचत हुने नासाको अनुमान रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५