काठमाडौं । बेलायतको दि युके कम्पिटिशन एण्ड मार्केट अथोरिटी (सीएमए) ले गिफी खरिद मुद्दामा भइरहेको अनुसन्धानमा सहकार्य नगरेको भन्दै मेटा (फेसुबक) लाई पुन: जरिवाना तिराएको छ ।
सन् २०२० को जुन महिनादेखि सीएमएले मेटाले ४० करोड डलरमा खरिद गरेको गिफीको विषयमा अनुसन्धान गरिरहेको छ । सो अनुसन्धानमा आवश्यक एक कर्मचारीले राजीनामा दिएको र उनको राजीनामा रोक्न नसकेको भन्दै सीएमएले मेटालाई १७ लाख डलर जरिवाना तिराएको छ ।
सीएमएका अनुसार मेटाले अनुसन्धानसँग सम्बन्धित तीन कर्मचारीको राजिनामाको विषयमा अनुसन्धानकर्तालाई जानकारी दिएको थिएन ।
ती कर्मचारीहरू अनुसन्धानका लागि मुख्य पात्रको रुपमा रहेको सीएमएले बताएको छ । योभन्दा अगाडि पनि यसरी नै अनुसन्धानमा सहकार्य नगर्दा सीएमएले मेटालाई पाँच करोड ७१ लाख डलरभन्दा बढि जरिवाना तिराएको थियो ।
आफ्नो प्रतिस्पर्धी कम्पनीलाई नै खरिद गर्ने प्रवित्तिले सामाजिक सञ्जालको क्षेत्रमा पारदर्शी प्रतिस्पर्धा नहुने सीएमएको बुझाइ छ ।
यही कारण सीएमएले मेटालाई गिफी बिक्री गर्ने आदेश दिइसकेको छ । यद्यपि कुनै पनि नियामकले यसरी कम्पनी बिक्री गर्नका लागि जबरजस्ती गर्न नपाउने भन्दै कम्पनीले यो आदेश खारेज गर्न माग गरेको छ ।