close

नक्कली फेसबुक अकाउन्टदेखि सावधान रहन प्रहरीको अनुरोध

टेकपाना टेकपाना

माघ २४, २०७८ १८:३५

नक्कली फेसबुक अकाउन्टदेखि सावधान रहन प्रहरीको अनुरोध

काठमाडौं । पछिल्ला दिनमा सामाजिक सञ्जालमा विभिन्न नक्कली फेसबुक अकाउन्ट खोली अपराधजन्य काम गर्ने गतिविधि बढेको भन्दै महानगरीय प्रहरी परिसर, काठमाडौंले सतर्क रहन अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै परिसरले फेसबुकमा नचिनेको मान्छेबाट आउने रिक्वेस्टबाट सर्तक रहन अनुरोध गरेको हो । साथै आफ्ना बालबालिकालाई समयमै सचेत गर्नेरगराउने कार्य गरी अपराध हुन नदिन परिसरले अभिभावकहरुलाई आग्रह गरेको छ ।

यसैबीच केही दिनअगाडि मात्र फेसबुकमार्फत नाबालिकालाई साथी बनाई ब्ल्याकमेल गरी जबर्जस्ती करणी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

परिसरका अनुसार सौगात महर्जन नामको नक्कली फेसबुक अकाउन्टबाट करिब तीन महिनाअगाडि पीडितसँग चिनजान भएको थियो ।

यही क्रममा पीडितलाई पीडकले बारम्बार भिडिओ कल गरी संवेदनशील अंगहरु देखाउन लगाई भिडिओ कल रेकर्ड गर्नुका साथै स्कुलमा साथीहरु तथा घर परिवार समेतलाई उक्त भिडिओ देखाउँछु र सामाजिक सञ्‍जालमा भाइरल बनाउँछु भनी धाक धम्की दिई ब्ल्याकमेल गरी पुस २७ गते राति आठ बजेको समयमा पीडितलाई काठमाडौं बुढानिलकण्ठ नजिकै रहेको एक निर्माणाधिन घरपछाडि भेट्न बाध्य बनाई निज नाबालिकालाई जवरजस्ती करणी गरी ती व्यक्ति फरार भएका थिए ।

अनुसन्धान गर्ने क्रममा सौगात महर्जन नामको नक्कली फेसबुक अकाउन्ट भएको व्यक्ति काभ्रेपलाञ्चोक, पनौती नगरपालिका वडा नं. १ स्थायी घर भई हाल ललितपुर पाटन सुन्धारा बस्ने वर्ष २१ का सुजन श्रेष्‍ठ रहेको भन्ने खुलेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको पनि परिसरले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२