close

मलेसियाका नेपालीलाई समेत वितरण गर्न थालियो विद्युतीय राहदानी

टेकपाना टेकपाना

माघ २८, २०७८ ९:५

मलेसियाका नेपालीलाई समेत वितरण गर्न थालियो विद्युतीय राहदानी

काठमाडौँ । मलेसियामा रहेको नेपाली दुतावासले विद्युतीय राहदानी वितरण सुरु गरेको छ । दूतावासले बुधबारदेखि त्यहाँ कार्यरत नेपाली नागरिकलाई विद्युतीय राहदानी प्रदान गर्न थालेको समाचार गोराखपत्रमा प्रकाशित छ ।

राहदानी विभागका अनुसार मलेसियामा रहेको दूतावासले बुधबार राहदानी नवीकरण गर्न दूतावास आइपुगेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानी वितरण सुरु गरेको हो । दूतावासबाट लाइभ इनरोलमेन्ट गरिएको राहदानी विभागबाट प्रिन्ट समेत गरेर सफलतापूर्वक परीक्षण समेत गरिएको छ ।

दूतावासले पहिलो दिनमै ३३ जनाको राहदानी नवीकरणको लागि लाइभ इनरोलमेन्ट गरेको जनाएको छ । दूतावासका अनुसार सुरुको एक हप्ता सीमित व्यक्तिलाई मात्र अनलाइन बुकिङको आधारमा सेवा दिने र त्यसपछि नियमित रुपमा विद्युतीय राहदानी जारी गरिनेछ ।

विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट कार्यक्रममा भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल समेत सहभागी भएका थिए दुतावासका अनुसार हाल मलेसियामा साढे दुई लाख नेपाली श्रमिक कार्यरत रहेका छन् ।

यसअघि आइतबार कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकका लागि विद्युतीय राहदानी वितरण सुरु गरेको थियो । त्यस्तै खाडी र मलेसियाबाहेक अन्य देशमा रहेका सबै नेपाली दूतावासमा उपकरण पठाउने काम भइरहेको र अबको केही सातामा सेवा सञ्चालनमा आउने राहदानी विभागले  जनाएको छ ।

नेपालमा अहिले ३५ ओटा जिल्ला प्रशासन कार्यालय र पाँच ओटा इलाका प्रशासन कार्यालयबाट गरी जम्मा ४१ ठाउँबाट विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ । अन्य जिल्लामा तीन ओटा प्राविधिक टोलीले नेटवर्किङ गर्ने, उपकरण जडान गर्ने र तालिम प्रदान गर्ने कार्य गरिरहेको जानकारी समेत विभागले दिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२