close

एन्ड्रोइड स्मार्टफोनमा यसरी जोगाउनुहोस् आफ्नो गोपनीयता

टेकपाना टेकपाना

माघ २८, २०७८ ११:१९

एन्ड्रोइड स्मार्टफोनमा यसरी जोगाउनुहोस् आफ्नो गोपनीयता

काठमाडौं । अहिलेको युगमा हामी प्रविधिको सर्वसुलभ पहुँचमा छौँ । कम्प्युटर, ल्यापटप र स्मार्टफोन जस्ता प्राविधिक चिजहरूले हामीलाई धेरै सजिलो बनाइरहेका छन् ।

यद्यपि यी उपकरणहरूसँग जोडिँदा कहिलेकाहीँ कसैको निगरानीमा पो छौं कि, अथवा भनौँ, हाम्रो कृयाकलाप तथा बानी व्यवहार कसैले नियालिरहेको छ कि भन्ने संकोच पैदा हुनसक्छ ।

विशेषगरी एन्ड्रोइडका स्मार्टफोनहरूमा गुगलको हस्तक्षेप एकदमै धेरै हुने गर्छ । हामी व्यक्तिविशेषलाई आफ्नो बारेमा त्यति जानकारी हुँदैन, त्योभन्दा धेरै जानकारी गुगलसँग रहेको हुन्छ ।

यस्तोमा आफूलाई कसरी सुरक्षित राख्ने भन्ने प्रश्न उठ्न सक्छ । यदि तपाईँ पनि त्यस्तै सोच्दै हुनुहुन्छ भने आज हामी तपाईँलाई त्यसका लागि केही उपायहरू बताउँदै छौँ । 

१. ब्याकअप बन्द गर्नुहोस् 

-यसका लागि तपाईँले सबैभन्दा पहिले मोबाइलको सेटिङमा जानुपर्ने हुन्छ । 

-अब सिस्टममा जानुहोस् ।

-ब्याकअपमा क्लिक गर्नुहोस् ।

यसो गर्दा तपाईँका केही फिचरहरू भने परिवर्तन हुनेछन्, जसले तपाईँलाई स्मार्टफोन प्रयोगमा सहजता मिलिरहेको हुन सक्छ । जस्तो कि, एसएमएस, वाई-फाईको पासवर्ड र सम्पर्क नम्बरहरू रिस्टोर हुँदैनन्, यसको बारेमा ख्याल गर्नुहोस् । 

२. थर्ड पार्टी एप तथा सर्भिस प्रयोग गर्नुहोस् 

गुगलको प्रयोग कम गर्नका लागि विकल्पका रुपमा तपाईँले अन्य थर्ड पार्टी एप प्रयोग गर्न सक्नुहुनेछ । सकेसम्म गुगल बाहेकका एपहरू प्रयोग कम गर्नुहोस् ।

उदाहरणका लागि जिमेलको साटो तपाईँले माइक्रोसफ्ट आउटलुक प्रयोग गर्न सक्नुहुन्छ । साथै सेटिङमा गएर गुगल एप निष्क्रिय पनि गर्नसक्नुहुन्छ । त्यस्तै सर्चका लागि डकडक गो प्रयोग गर्न सक्नुहुन्छ । 

३. थर्ड पार्टी ब्राउजर प्रयोग गर्नुहोस्

गुगल क्रोमको प्रयोगकर्तालाई ट्रयाक गर्ने संयन्त्रबाट जोगिनका लागि थर्ड पार्टी ब्राउजरको प्रयोग गर्न सकिन्छ । यसमा पनि सुरक्षित कुन छ भन्ने विषयलाई त ध्यानमा राख्नैपर्ने हुन्छ । तपाईँको विकल्पका रुपमा ब्रेभ, ओपेरा जीएक्स र फायरफक्स निकै सुरक्षित ब्राउजर मानिन्छन् । 

साथै सामसङको इनबिल्ट ब्राउजर, माइक्रोसफ्ट इन बिल्ट पनि तपाईँका लागि उपयुक्त ब्राउजर हुनसक्छन् । यो सबैका लागि तपाईँले सेटिङमा गएर सर्च इन्जिनलाई थर्डपार्टी सर्च इन्जिनमा परिवर्तन गर्नुपर्ने हुन्छ । डकडक गो डटकमलाई निकै नै सुरक्षित प्लेर्टफर्मको रुपमा हेर्ने गरिन्छ । 

४. टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहोस्

भाइरस र ह्याकरबाट जोगिनका लागि एकदमै उपयोगी विकल्प हो टु फ्याक्टर अथेन्टिकेसनको प्रयोग । यसले गुगलको प्रयोग कम त गराउँदैन । तर फेसबुक, जिमेल, माइक्रोसफ्ट, रेडिट र ट्वीटर लगायतमा यसको प्रयोग गरी सुरक्षित रहन सकिन्छ । 

५. अन्य

स्मार्टफोनको प्रयोगलाई थप सुरक्षित बनाउनका लागि अन्य उपायहरू पनि अपनाउन सक्नुहुनेछ । उदाहरणका लागि प्रयोग नगर्दा वा आवश्यक नहुँदा लोकेसन तथा जीपीएस अफ राख्नुहोस् । यसो गर्दा तपाईँको ब्याट्री खपत समेत कम हुन्छ ।

अर्को कुरा तपाईँको मोबाइलमा कुन कुन एपले एड्मिन एक्सेस लिएका छन्, चेक गर्नुहोस् । यसका लागि सेटिङ हुँदै क्रमशः एप, एड्भान्स्ड, स्पेसल एप एक्सेसबाट डिभाइस एड्मिन एप्समा जानुहोस् ।

त्यहाँ रहेका फाइन्ड माई डिभाइस र गुगल प्लेले बाइ डिफल्ट रुपमा यस किसिमको अनुमति लिएका हुन्छन् । यस बाहेक मोबाइलमा भएका एपको अनुमति अर्थात पर्मिसनमा निगरानी राख्नुहोस् ।

यदि तपाईँले कुनै एउटा एपले अनावश्यक किसिमको पर्मिसन लिइरहेको देख्नु भयो भने त्यसलाई डिसेबल गर्नुहोस् । थर्डपार्टी एपमा गुगलको साथमा लगईन गर्ने काम नगर्नुहोस् । यस्तोमा बरु हरेक अकाउन्टका लागि छुट्टाछुट्टै युजरनेम र पासवर्ड राख्नुहोस् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२