काठमाडौं । ई-कमर्समा बैंकिङ कार्ड प्रयोग गरी हुने विद्युतीय भुक्तानी लगातार घट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्षको पहिलो छ महिनाको तथ्याङ्क अनुसार ई-कमर्समा बैंकिङ कार्डबाट हुने विद्युतीय भुक्तानी निरन्तर घट्दै गएको देखिएको हो ।
तथ्याङ्क अनुसार यो आर्थिक वर्षको पछिल्लो छ महिनामा बैंकिङ कार्ड प्रयोग गरेर ई-कमर्स प्लेटफर्ममा भएको कारोबार गत आर्थिक वर्षको सोही अवधिमा भएको कारोबारको तुलनामा कारोबार सङ्ख्या र रकम दुवैमा भारी गिरावट आएको छ ।
चालु आर्थिक वर्षको सुरु छ महिनामा चार लाख १९ हजार ४३९ पटक भएका कूल कारोबारबाट दुई अर्ब ४३ करोड ८० लाख रुपैयाँ भुक्तानी भएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधीमा सात लाख नौ हजार ८६४ पटकको कारोबारमा चार अर्ब ९८ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो ।
यसरी हेर्दा छ महिनाको अवधिमा गत आर्थिक वर्षको तुलनामा चालु आवमा ई-कमर्सको विद्युतीय भुक्तानी कारोबार सङ्ख्यामा दुई लाख ९० हजार ४३४ ले तथा कारोबार रकम दुई अर्ब ५४ करोड ४० लाख रुपैयाँले गिरावट आएको छ ।
ई-कमर्सको डिजिटल भुक्तानीमा २०७७ साउनदेखि २०७८ पुससम्म आएको गिरावट (रकम रु १० लाखमा)
केही ई-कमर्सहरूले बैकिङ कार्डमार्फत् अनलाइन भुक्तानीलाई प्रोत्साहन गर्न यस्तो प्रकारको भुक्तानीमा विभिन्न छुटहरू पनि दिने गरेका छन् । तर कारोबार सङ्ख्या र भुक्तानी दुवै घट्ने क्रममा देखिएको हो ।