close

मोबाइल कलको शूल्क घट्दै, अब ४४ पैसा सस्तोमा कुरा गर्न सकिने

रन्जन कोइराला रन्जन कोइराला

पुस १६, २०७६ १५:५५

मोबाइल कलको शूल्क घट्दै, अब ४४ पैसा सस्तोमा कुरा गर्न सकिने

अब एउटा सेवा प्रदायकको मोबाइल नम्बरबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा प्रति मिनेट ४४ पैसा घट्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ ‘अन्तरआवद्धता निर्देशिका २०७६’ जारी गर्दै एक सेवा प्रदायकबाट अर्को सेवा प्रदायको नेटवर्कमा कल गर्दा लाग्ने शूल्क घटाएको हो ।

यसअघि निर्देशिका अनुसार सेवा प्रदायकले आफ्नो नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा बढीमा ५४ पैसा थप गर्न पाउने व्यवस्था थियो । त्यसमा परिवर्तन गरि नयाँ निर्देशिकाले बढीमा १० पैसा मात्रै लिन मिल्ने व्यवस्था गरेको छ ।

यो व्यवस्था लागु भएसँगै हाल नेपाल टेलिकम, एनसेल र स्मार्टसेल मध्ये एउटा सेवाप्रदायक कम्पनीको नम्बरबाट अर्को कम्पनीको नम्बरमा कल गर्दा लाग्दै आएको शूल्कमा ४४ पैसा घट्नेछ ।

निर्देशिका जारी भइसकेको भएतापनि त्यसअनुसार तुरुन्तै मूल्य घट्ने छैन । सेवाप्रदायकको माग अनुसार प्राधिकरणले यो नियम चार महिना पछि मात्रै लागु गर्नेछ । आउँदो चैत २० गतेबाट मात्रै यो निर्णय लागु हुने प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताए ।

हाल नेपाल टेलिकमको नेटवर्कबाट अन्य नेटवर्कमा प्रिपेड सिमबाट कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा लाग्छ भने पोस्टपेडबाट गर्दा १ रुपैयाँ लाग्छ । चैत पछि भने उक्त शुल्क घटेर प्रिपेडबाट प्रतिमिनेट १ रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ। त्यस्तै एनसेलबाट अन्य सेवा प्रदायकमा कल गर्दा हाल प्रतिमिनेट दुई रुपैयाँ ५४ पैसा लाग्छ । नयाँ निर्देशिका अनुसार अब एसेलबाट नेपाल टेलिकम र स्मार्टसेलमा दुई रुपैंया १० पैसा प्रतिमिनेटमै कल गर्न सकिने छ ।

यस्तै स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ४८ पैसामात्रै लाग्नेछ । हाल स्मार्टबाट अन्य सेवा प्रदायकमा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ९२ पैसा लाग्दै आएको छ ।

सामान्यतया सेवाप्रदायकले अन्य नेटवर्कको तुलनामा आफ्नै नेटवर्क भित्र हुने कलको दर सकेसम्म सस्तो वा समान राखेका हुन्छन्, महंगो भने हुँदैन । यस आधारमा अन्तरआवद्धता तर्फको कलको दर घट्दा कम्पनीकै नेटवर्क भित्रको कल समेत सस्तिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१