राजावादीको एसएमएस आतङ्कबाट जोगिए एनसेलका नम्बर, कम्पनी भन्छः हाम्रा सबै ग्राहक सुरक्षित छन्
पुस ३०, २०८२ १८:२
काठमाडौँ । पछिल्लो समय राजावादी प्रदर्शनको प्रचारका लागि लाखौँको संख्यामा पठाइएको बल्क एसएमएसबाट आफ्ना ग्राहकहरू सुरक्षित रहेको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जनाएको छ । एकै दिन करिब ५० लाख एसएमएस पठाएर सर्वसाधारणलाई आतङ्कित पारिएको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै एनसेलले ती अनधिकृत मेसेज आफ्ना ग्राहकलाई नगएको स्पष्ट पारेको हो ।
विज्ञप्ति जारी गर्दै एनसेलले एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठुलो संख्यामा राजनीतिक सन्देश प्रवाह भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “उक्त अनधिकृत एसएमएस एनसेलका ग्राहकलाई प्रसारण भएको नपाईएको पनि स्पष्ट गर्न चाहन्छौँ,” एनसेलले विज्ञप्तिमा भनेको छ ।
घटनाको समीक्षा र सम्भावित जोखिमको मूल्याङ्कनपछि एनसेलले उक्त राजनीतिक सन्देश प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस (भ्यास) प्रदायक कम्पनी आकाश टेकलाई पनि सचेत गराएको छ । एनसेलले दूरसञ्चार सेवाको अनधिकृत वा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति शून्य सहनशीलता (जिरो टोलरेन्स) को नीति अपनाउँदै आएको दाबी गरेको छ ।
कम्पनीले प्रचलित कानुन, नियम र नैतिक मापदण्ड विपरीतका साथै ग्राहकको गोपनीयता हनन् हुने कुनै पनि सामग्रीका लागि आफ्नो सेवा प्रयोग गर्न कडाइका साथ निषेध गरिएको जनाएको छ ।
“सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता प्राप्त गर्ने नेपालकै पहिलो दूरसञ्चार कम्पनीका रूपमा एनसेल ग्राहकको डाटा सुरक्षा र वैयक्तिक गोपनीयतामा उच्चतम मापदण्ड कायम गर्दै आएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
एनसेलले आफ्ना ग्राहकको व्यक्तिगत विवरण सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत तथा सम्झौतागत सुरक्षात्मक व्यवस्था लागु गरिएको भन्दै कुनै पनि अनधिकृत उद्देश्यका लागि डेटा साझा नगर्ने प्रतिबद्धता जनाएको छ ।
अर्कोतर्फ सरकारी स्वामित्वको नेपाल टेलिकमले आफ्नो प्रणाली प्रयोग गर्ने भ्यास सेवा प्रदायकले सम्झौता विपरीत राजनीतिक सन्देश पठाएको स्वीकार्दै ग्राहकको व्यक्तिगत विवरण आफूले उपलब्ध नगराएको दाबी गरेको छ ।
पछिल्लो अध्यावधिक: माघ १, २०८२ ८:५४


