close

अवैध कल सेन्टर सञ्चालन गर्ने चिनियाँ नागरिक सहित ८० जना पक्राउ

टेकपाना टेकपाना

फागुन ११, २०७८ ६:५३

अवैध कल सेन्टर सञ्चालन गर्ने चिनियाँ नागरिक सहित ८० जना पक्राउ

भक्तपुर । अवैध कल सेन्टर सञ्चालन गर्ने चिनियाँ नागरिक सहित ८० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सानोठिमीस्थित घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरेकाे भन्दै सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।

भारतीय मुलका युवा युवतीलाई छोटो समयका लागि कुनै सिस्टममार्फत पाँचदेखि १० हजारसम्म सानो सानो मात्रामा ऋण लगानी गरी निश्‍चित ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणीहरुलाई कल सेन्टर मार्फत सम्पर्कमा ल्याउने गरेकाे पाइएकाे छ ।

साथै ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य सञ्चालन गर्ने वाङजिनावले नेपाली युवा युवतीहरूको प्रयोग गरी कल सेन्टर सञ्चालन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उक्त घरबाट ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो ।

उक्त कार्य सञ्चालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्यापटप र २ थान आईप्याड प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२