close

कम्पनीको नाम मेटा राखेपछि फेसबुकले चार महिनामै गुमायाे ५९८ खर्ब

टेकपाना टेकपाना

फागुन ११, २०७८ १२:४१

कम्पनीको नाम मेटा राखेपछि फेसबुकले चार महिनामै गुमायाे ५९८ खर्ब

काठमाडौं । फेसबुकको अभिभावक कम्पनी मेटाले केही महिनादेखि लगातार घाटा बेहोरिरहेको छ । गत अक्टाेबरमा फेसबुक इंककाे नाम परिवर्तन गरी मेटा राखिएकाे थियाे ।

आफ्नो स्वामित्वमा रहेका सम्पूर्ण माध्यम (फेसबुक, म्यासेन्जर, इन्टाग्राम, ह्वाट्सएप) को उद्देश्य एउटै रहेको भन्दै प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरिएकाे थियाे । तर मेटा नाम राख्नु फेसबुकका लागि अभिशाप जस्तै भएको छ ।

प्रयोगकर्ताको व्यक्तिगत जानकारी ट्र्याक गरेर सामान बेच्ने फेसबुकको व्यापारिक मोडललाई धरापमा पार्दै एप्पल र गुगलले गोपनीयता सम्बन्धी नीति परिवर्तन गरेका छन् । जसको माध्यमबाट एप्पल र गुगल प्रयोगकर्ताले मेटा ट्र्याकरलाई ब्लक गर्न सक्छन् ।

त्यसैको परिणाम स्वरूप मेटाको आम्दानीमा उच्च गिरावट आएको हो । यसबाहेक कम्पनीको व्यापार घट्नुमा विभिन्न कारण छन् । फेसबुकका प्रायः युवा प्रयाेगकर्ता छन् ।

टिकटकको आगमनपछि प्रयोगकर्ताले फेसबुकभन्दा टिकटकलाई प्राथमिकता दिन थालेका छन् । फेसबुकको माध्यमबाट आफन्त तथा साथीभाइसँग डिजिटल रूपमा सम्पर्कमा रहन सकिन्छ ।

फेसबुकको यही विशेषताले करोडौं प्रयोगकर्ता याे प्लेटफर्ममा जाेडिएका हुन् । तर अहिले त्यो विशेषता भएका प्लेटफर्म धेरै आइसकेका छन् । यसले गर्दा फेसबुकका सक्रिय प्रयोगकर्ता घट्दै गइरहेका छन् ।

न्यू योर्क म्यागेजिनले प्रकाशित गरेको एक समाचारका अनुसार गत ६ महिनामा फेसबुकले करिब ५०० अर्ब डलर (अनुमानित ५९८ खर्ब रुपैयाँ) गुमाएको छ । कम्पनीलाई नयाँ दिशामा लैजान जुकरबर्गले बेलाबेलामा नयाँनयाँ फिचर ल्याइरहेका छन् ।

प्रयोगकर्तालाई थ्रीडी प्रविधिको माध्यमबाट भर्चुअल रियालिटीको अनुभव गराउन कम्पनीको नाम मेटा राखिएको थियो । तर यो प्रविधिले बजार पाउने कुरामा अझै शङ्का छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२