close

ट्राफिक नियम उल्लङ्घन गर्दा प्रहरीको साटो अब सीसी क्यामेराले समात्ने

टेकपाना टेकपाना

फागुन १३, २०७८ १४:५४

ट्राफिक नियम उल्लङ्घन गर्दा प्रहरीको साटो अब सीसी क्यामेराले समात्ने

काठमाडौं । ट्राफिक प्रहरीले सीसीटिभी क्यामेराको सहयोगमा स्वचालित किसिमले ट्राफिक नियम उलङ्घन गर्ने सवारी साधन पत्ता लगाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अबको केही दिनमा थापाथलीबाट पाइलट परियोजनाको रुपमा यस्तो प्रविधि प्रयोगमा ल्याउन लागेको हो ।

महाशाखाको सूचना प्रविधि शाखाका इन्स्पेक्टर सुरेशकुमार थापाका अनुसार सडकमा ट्राफिक प्रहरीको उपस्थिति बिना नै ट्राफिक नियम उलङ्घन गर्नेलाई पहिचान गरी कारबाही गरिनेछ । अहिले ट्राफिक प्रहरीले सडकमा खटेर नियम उलङ्घन गर्ने सवारी चालकलाई रोकेर चिट काट्नुपर्ने अवस्था रहेको छ ।

तर अब भने ट्राफिक व्यवस्थापन अटोमेटेड अर्थात स्वचालित प्रणालीमा जाने भएको हो । यदि कुनै सवारीले कुनै स्थानमा ट्राफिक नियम उलङ्घन गरेको खण्डमा सीसीटिभी क्यामेराले स्वचालित रुपमा त्यसलाई पहिचान (डिटेक्ट) गर्नेछ ।

यसरी उलङ्घन गरेको ट्राफिक नियम र सवारी साधनको नम्बर ट्राफिक प्रहरीको केन्द्रिय सूचना प्रणाली (सेन्ट्रल डेटाबेस सिस्टम) मा पुग्नेछ । त्यसपछि सम्बन्धित सवारी धनी र सवारी चालक पहिचान गरेर जरिवाना गराइने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसका लागि थापाथलीमा पाइलट परियोजनाको रुपमा यो प्रविधि प्रयोगमा ल्याउन लागिएको इन्स्पेक्टर थापाले जानकारी दिए । ‘यसका लागि आवश्यक सीसीटिभी क्यामेरा, सफ्टवेयर लगायतका उपकरण तयार पारिसकेका छौँ,’ उनले टेकपानासँगको कुराकानीमा भने, ‘अब छिट्टै नै हामी यो परियोजना सुरु गर्दैछौँ ।’

थापाथलीको सडकमा कुनै सवारी साधनले निर्धारित लेन क्रश गरेको खण्डमा सीसीटिभी क्यामेराको सहयोगमा सफ्टवेयरले त्यसलाई पहिचान गर्नेछ । यसरी प्राप्त जानकारीको आधारमा प्राविधिकले सम्बन्धित सवारी साधनको नम्बर हेरेर जरिवाना तथा कारबाहीको प्रक्रिया अगाडि बढाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३