close

युक्रेनी नागरिकका लागि फेसबुकले खोल्यो ‘लक प्रोफाइल’ टुल

टेकपाना टेकपाना

फागुन १४, २०७८ १८:१३

युक्रेनी नागरिकका लागि फेसबुकले खोल्यो ‘लक प्रोफाइल’ टुल

काठमाडौं । फेसबुकको सेक्युरिटी टिमले युक्रेनका प्रयोगकर्ताको अकाउन्ट सुरक्षित गर्न नयाँ कदम चालेको छ ।

कम्पनीले युक्रेनी नागरिकका लागि आफ्नो लक प्रोफाइल फिचर पुन: सञ्चालनमा ल्याएको हो । साथै कम्पनीले युक्रेनमा के भइरहेको छ भनेर थाहा पाउन विशेष अपरेशन सेन्टर पनि निर्माण गर्दैछ ।

प्रयोगकर्ताको सुरक्षा र गोपनीयताका लागि फेसबुकले यो फिचर ल्याएको थियो । यद्यपि आफ्नो सुरक्षा प्रणाली अपडेट गर्दै गएसँगै कम्पनीले यो फिचर धेरै ठाउँमा बन्द गरिसकेको थियो ।

अन्य सुरक्षा प्रणालीभन्दा लक प्रोफाइल एउटा क्लिकमा नै प्रयोगकर्तालाई आफ्नो अकाउन्ट सुरक्षा गर्न सहज हुने भएकाले युक्रेनी नागरिकका लागि यो फिचर सञ्चालन गरिएको मेटाको सुरक्षा नीतिका प्रमुख नथानियल ग्लेचरले आफ्नो ट्वीट मार्फत बताएका छन् ।

फेसबुकले “असुरक्षित” क्षेत्रमा प्रयोगकर्तालाई उनीहरूको प्रोफाइल लक गर्न प्रोत्साहित गरेको यो पहिलो पटक होइन । केही समयअगाडि पनि अफगानिस्तानमा युद्ध हुँदा त्यहाँका नागरिकको सुरक्षाको लागि यो फिचर उपलब्ध गराइएको थियो ।

यो फिचरले प्रयोगकर्ताको साथी बाहेक अन्यले प्रोफाइल, तस्वीरलगायत अन्य कुनै पनि विवरण हेर्न अनुमति दिँदैन ।

विशेषगरी पत्रकार, अभियानकर्ता लगायत अन्य नागरिकहरू जो रुस-युक्रेनको युद्धको उच्च जोखिममा हुन सक्छन्, उनीहरूलाई लक्षित गरी यो फिचर खुलाइएको देखिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३