काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि नेपाल डिजिटल पेमेन्ट्स कम्पनीसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा एनडीपीसीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात् एनडीपीसी अन्तर्गत रहेको नमस्तेपेलाई एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा जोडिनेछ । यसरी पहिलो चरणमा उपलब्ध रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डमा आधारित नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरू आफ्ना ग्राहकलाई प्रदान गर्ने छ ।
त्यस्तै विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तर आबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरू पनि उपलब्ध भएसँगै कार्यान्वयन गरिने छ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रहने र विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआईमार्फत बैंक तथा वित्तीय संस्था तथा गैर बैङ्किङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।
त्यसै गरी दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागी नेसनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले नमस्तेपे वालेटमार्फत क्रेडिट कार्ड बिल भुक्तानी, टेलिभिजन तथा इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, लगायतका विभिन्न भुक्तानी गर्न सकिने सेवा दिँदै आएको छ ।
नेसनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गत विभिन्न सेवा तथा उपकरणको विस्तारले कम्पनीका ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने विश्वास गरिएको छ । हाल नेसनल पेमेन्ट स्वीचमा ३८ वटा बैंक तथा वित्तीय संस्था र छ ओटा भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ४४ वटा संस्था आबद्ध भइसकेका छन् ।