काठमाडाैं । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालय र सामुदायिक संस्थामा निःशुल्क इन्टरनेट सेवा सुरु भएको छ ।
गाउँपालिकामा रहेका ७९ वटा सामुदायिक विद्यालय र ३४ वटा सामुदायिक संस्थामा निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरण, खाँडादेवी गाउँपालिका र यरोनेटको संयुक्त सम्झौताअनुसार बागमती प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेलले सेवाको सुरुवात गरेका हुन् ।
सरकारी कार्यालयमार्फत प्रवाह गरिने सेवालाई छिटो र विद्युतीय माध्यममार्फत प्रदान गर्नेगरी इन्टरनेट सेवाको विस्तार गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।
‘निःशुल्क गरिएको इन्टरनेट सेवाले सामुदायिक विद्यालय र संस्थाको सेवा प्रवाहमा सुधार हुने विश्वास लिएका छौं,’ गाउँपालिका अध्यक्ष तामाङले भने ।