काठमाडौं । सोमबार माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नादेलाका २६ वर्षीय छोराको मृत्यु भएको छ । कम्पनीका कर्मचारीलाई ई-मेलमार्फत यसको जानकारी दिइएको हो । सत्य र अनु नादेलाका छोरा जइन नादेला मस्तिष्क पक्षघात सहित जन्मिएका थिए ।
सन् २०१४ मा माइक्रोसफ्टको सीईओ बनेपछि सत्य नादेलाले आफ्ना छोरा जइनको हुर्काई र बढाईका क्रममा प्राप्त सिकाई अनुरूप अपाङ्गता भएका व्यक्तिहरूको सहजतालाई मध्यनजर गर्दै कम्पनीका उत्पादनको डिजाइनमा ध्यान दिँदै आएका थिए । जइनले धेरैजसो उपचार प्राप्त गरेको बाल अस्पतालमा सियटल चिल्ड्रेन्स सेन्टर फर इन्टिग्रेटिभ ब्रेन रिसर्च स्थापना नादेलाले साथ दिएका थिए ।
बाल अस्पतालका सीईओ जेफ स्पेरिङ्गले आफ्नो बोर्डलाई सन्देश लेख्दै भनेका छन्, ‘जइन संगीत प्रतिको अगाध रुचि, उनको घाम जस्तै उज्यालो अनुहार र उनले आफ्नो परिवार तथा आफूलाई माया गर्नेहरूलाई दिएको अपार आनन्दका लागि सधैँ सम्झनामा रहनेछन् ।’