काठमाडौं । भारतको लोकप्रिय डिजिटल वालेट भारतपेका सहसंस्थापक अशनीर ग्रोभर र उनको परिवारले कम्पनीको पैसा हिनामिना गरेको कुरा बाहिरिएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै भारतपेले कम्पनीको बोर्डले गरेको अनुसन्धानमा ग्रोभर र उनको परिवार दोषी ठहरिएको बताएको हो ।
कम्पनीका अनुसार ग्रोभर र उनको परिवारले कम्पनीको खाताबाट अस्वभाविक रुपमा पैसा चलाएको र अन्य खातामा रकम ट्रान्सफर गरेको पाइएको छ । ग्रोभर र उनको परिवारले मिलेर नक्कली व्यवसायी बनाएर उनीहरूलाई पैसा तिर्ने नाममा कम्पनीको खाताबाट जथाभावी रुपमा रकम ट्रान्सफर गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै आफ्नो विलासी जीवनको लागि उनको परिवारले कम्पनीको पैसा प्रयोग गरेको पनि बताइएको छ । मङ्गलबार बसेको बोर्ड बैठकले यस्तो निर्णय लिएको हो ।
लामो समयदेखि विभिन्न विवादमा तानिएका ग्रोभरले कम्पनीबाट मङ्गलबार मध्यरात राजीनामा दिएका थिए । आफूले कम्पनीको लागि १०० करोड भारतीय रुपैयाँ बराबरको म्यानेजमेन्ट स्टक सहित धेरै त्याग गरेको बताउँदै उनले मङ्गलबार मध्यरातमा बोर्ड समक्ष आफ्नो राजीनामा पेश गरेका थिए ।
राजीनामा दिए लगत्तै भारतीय सञ्चार माध्यम दि इकोनोमिक टाइम्ससँगको कुराकानीमा उनले कम्पनीले पनि आफूलाई ठगेको बताएका छन् । आफूले पाउनुपर्ने १०० करोड भारतीय रुपैयाँ बराबरको म्यानेजमेन्ट स्टकको रकम आफूले त्याग्नु परेको र आफ्नी श्रीमती माधुरी जैनको कर्मचारी शेयरबाट पनि १२ करोड भारुको शेयर छलेर कम्पनीले हत्याएको ग्रोभरले बताएका छन् ।
उनकी श्रीमती जैनलाई पनि कम्पनीले यही जनवरी २३ मा कम्पनीको कोषबाट रकम हिनामिना गरेको आरोपमा बर्खास्त गरेको थियो । जैनले भारतपेमा कन्ट्रोलरको रुपमा काम गर्दै आएकी थिइन् ।