काठमाडौं । विश्वमा धेरै प्रयोग हुने इन्स्ट्यान्ट मेसेजिङ एपमध्येमा ह्वाट्सएप एउटा हो । जसका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी रहेका छन् ।
१८० भन्दा बढी देशमा प्रयोग हुँदै आएको यो एप व्यवसायिक प्रयोजन तथा व्यक्तिगत मेसेजिङका लागि निकै लोकप्रिय छ । हुन त यो एप अन्य प्रतिस्पर्धी एपको तुलनामा निकै पछि छ ।
अन्य प्रतिस्पर्धीले विभिन्न फिचर उपलब्ध गराइसक्दा पनि यसमा त्यस किसिमका सुविधा प्रयोगकर्ताले पाइरहेका हुँदैनन् । तर, पनि प्रयोगकर्ताको रोजाइमा भने यो एप निकै अघि छ ।
पछिल्लो समय टेक्स्ट मेसेजमात्रै सञ्चार माध्यमको टुलमा सीमित छैन । भिडिओ, भ्वाइस कल, विभिन्न फाइल शेयरिङ अनिवार्य जस्तै भइसकेका छन् । यस्तोमा कम्पनीले प्रयोगकर्तालाई भ्वाइस नोटमा थप नयाँ अनुभव प्रदान गर्ने गरी काम गरिरहेको बताइएको छ ।
त्यसमध्ये भ्वाइस रेकर्ड गर्दा बीचमै ‘पज’ गर्न सकिने फिचर पनि एक हो । यसको अर्थ यदि तपाईंले ह्वाट्सएपमा कसैलाई भ्वाइस म्यासेज पठाउन खोज्नु भयो भने रेकर्ड गर्दागर्दै बीचैमा रोकेर पुनः त्यहीँबाट रेकर्ड सुरु गर्न सक्नुहुनेछ ।
यो फिचर पहिलो चरणमा एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने बताइएको छ । वाबेटाइन्फोनका अनुसार ह्वाट्सएपको नयाँ भर्सन २.२२.६.७ मार्फत यो फिचर एन्ड्रोइड प्रयोगकर्तामाझ आउँदैछ ।
हाल यो फिचर कम्पनीले बेटा भर्सनको रुपमा केही सीमित प्रयोगकर्तामाझ उपलब्ध गराएको छ । चाँडै अन्य सबै प्रयोगकर्तालाई यो सुविधा उपलब्ध गराउने कम्पनीको तयारी रहेको बुझिएको छ ।