काठमाडौं । अबको केही दिनमा एन्ड्रोइड अपरेटिङ सिस्टमको नयाँ भर्सन आउँदै छ । गुगलले डेभलपरका लागि एन्ड्रोइड १३ को बेटा भर्सन सार्वजनिक गरिसकेको छ ।
गुगलले आउँदै गरेको एन्ड्रोइड १३ का फिचरहरू बारे केही झलक दिएको छ । गुगलको आधिकारिक जानकारी र लिकहरूबाट आएको अनुमान हेर्ने हो भने एन्ड्रोइड १३, एन्ड्रोइड १२ को प्राइभेसी फिचरमा निर्माण हुने, युजर इन्टरफेसलाई बढवा दिने किसिमको हुनेछ ।
यदि तपाईँ एन्ड्रोइड १३ सार्वजनिक हुने मिति, यसमा हुने फिचरहरूका बारेमा जान्न उत्सुक हुनुहुन्छ भने यहाँ हामी त्यसै विषयमा चर्चा गर्दै छौँ ।
सार्वजनिक हुने मिति
गुगलले आधिकारिक रूपमा एन्ड्रोइड १३ को विषयमा कुनै जानकारी उपलब्ध नगराएको भए पनि एन्ड्रोइड डेभलपर्स ब्लगले भने यो कुरा बाहिर ल्याएको छ ।
गुगलले दोस्रो डेभलपर बेटा भर्सन सार्वजनिक गर्नेछ र यसको बेटा भर्जन जुलाईसम्म बाहिर ल्याउने छ । जुलाईमा सार्वजानिक हुने बेटा भर्जन हाल परीक्षणकै क्रममा रहेको छ ।
यी सबै कुरालाई नियाल्ने हो भने नयाँ अपरेटिङ सिस्टम सहितको एन्ड्रोइड १३ बेटा भर्सन पूर्ण भएको महिनामै सार्वजनिक हुने सम्भावना छ ।
गुगलले अन्य एन्ड्रोइड फोनहरू जस्तै सामसङ, मोटरोला, वन प्लसभन्दा पिक्सेल फोनमा एन्ड्रोइडको अपडेट अगाडि पठाउँछ । त्यसैले यो सार्वजनिक भइसके पनि अन्य एन्ड्रोइड प्रयोगकर्ताले केही समय पर्खिनुपर्ने हुनसक्छ ।
नयाँ फोटो प्राइभेसी फिचर
अन्य एपहरूलाई क्यामेरा, माइक, लोकेसन आदिलाई सहजै एक्सेस गर्नबाट रोक लगाउने कुरामा एन्ड्रोइड १२ ले पहिलो पटक परिचित गराएको थियो ।
यस्तो फिचरमा एन्ड्रोड १३ अझ बढी प्रभावकारी हुन सक्ने विश्वास गरिएको छ । प्राइभेसी सेटिङलाई लिएर एन्ड्रोइड १३ सशक्त रूपमा अघि आएको छ ।
गुगलको एन्ड्रोइड डेभेलपर्सको ब्लग अनुसार एन्ड्रोइड १३ ले फोटो पिकरको अप्सन समावेश गरेको छ । यसको अर्थ जब कुनै एपले तपाईँको फोटो वा भिडिओ एक्सेस गर्न खोज्छ, त्यसका लागि यसअघि सबै फाइलमा एक्सेस दिने गर्दथ्यो । तर अब एन्ड्रोइड १३ मा भने तपाईँले जुन फाइल छान्नुभयो, त्यसैमा मात्र उक्त एपले पहुँच पाउनेछ ।
डिजाइन र कलर अप्सनमा भएको अपग्रेड
एन्ड्रोइड डेभलपर्स ब्लग अनुसार एन्ड्रोइड १३ ले प्रयोगकर्ताका लागि कलर कस्टमाइजेसन सामग्री थप गरेको छ । विगतमा एन्ड्रोइड १२ मा गुगल एपले मात्र कलर प्यालेट फिचरमा काम गर्दथ्यो ।
तर, एन्ड्रोइड १३ मा भने सबै एपमा कलर कस्टमाइजेसन फिचर लागू हुनेछ । साथै मोनोक्रोम्यामिक भएका एपहरूमा अल्टरनेट आइकन समावेश गर्न डेभलपरहरू सहमत भएका छन् ।
चर्चित स्रोत एन्ड्रोइड पुलिसका अनुसार एन्ड्रोइड १३ ले प्रयोगकर्तालाई कलर कस्टमाइजेसनका लागि अन्य थप विकल्प छान्न मिल्ने सुविधा दिनेछ ।
आईओएसको बाटो पच्छाउँदै
एप्पलका आईफोनले प्रयोगकर्तालाई वर्षौँदेखि फ्ल्याशलाइट ब्राइटनेस एडजस्ट गर्ने फिचर दिँदै आएको छ । त्यसैलाई पच्छाउँदै एन्ड्रोइड १३ ले यो फिचर समावेश गर्ने हल्ला फैलिएको छ ।
एन्ड्रोइड विश्लेषक मिशाल रहमानका अनुसार अहिलेका प्रायः एन्ड्रोइड फोनहरूमा त्यस किसिमको हार्डवेयर नै छैन । जसले फ्ल्याश लाइटको ब्राइटनेस फिचरलाई सञ्चालन गर्न सकोस् । तर केही सामसङ फोनहरूमा भने यो फिचर लागू भएको छ ।
एन्ड्रोइड १३ कसरी डाउनलोड गर्ने ?
अहिलेलाई तपाईँले एन्ड्रोइड १३ डाउनलोड गर्न सक्नुहुन्न । डेभलपरका लागि विकास गरिएको पहिलो प्रिभ्यू हेर्ने हो भने तपाईँको डिभाइसमा यो अपडेट भइसकेपछि केही एपले राम्रोसँग काम नगर्न सक्छन् ।
ब्याट्री लाइफलाई लिएर हेर्ने हो भने यसमा तमाम बगहरू छन् । त्यसकारण अहिलेका लागि यसलाई डाउनलोड गर्नेबारे नसोचेकै राम्रो । तर, पनि डेटा जोखिममा राखेर एन्ड्रोइड १३ को केही स्वाद चाख्न चाहनु हुन्छ भने डाउनलोड गर्न सक्नु हुन्छ ।