close

अब डिजिटल माध्यमबाट २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

फागुन २५, २०७८ २१:५६

अब डिजिटल माध्यमबाट २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालन गर्दै आएको एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत् गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी अन-अस (पठाउने र पाउने बैंक/वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रति कारोबार सीमा वृद्धि गरिएको छ ।

विभिन्न सरकारी निकाय तथा बैंक/वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कारोबार सीमा वृद्धि गरिएको हाे ।

अब बैंक/वित्तीय संस्थाका ग्राहकले सरकारी राजस्व भुक्तानी गर्दा एनसीएचएल बैंक सेन्ट्रलमार्फत् अन-असमा दुई अर्ब रूपैयाँसम्म र कर्पोरेटपे मार्फत पब्लिक नेटवर्कबाट अन-असमा एक करोड र प्राइभेट नेटवर्कबाट अन-असमा रु. पाँच करोड रूपैयाँसम्म भुक्तानी गर्न सकिनेछ ।

वृद्धि गरिएको प्रति कारोबार सीमा पठाउने र पाउने बैंक/वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ भने पाउने र पठाउने बैंक/वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन-रियल टाइम भुक्तानी ३० करोड रूपैयाँसम्म र रियल टाइम भुक्तानी २० लाख रूपैयाँसम्म नै लागू हुने जनाइएकाे छ ।

विशेषतः अन्तरिक राजस्व विभाग, भन्सार विभागजस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने निकायका लागि यो सुविधा थप प्रभावकारी हुने बताइएकाे छ ।

एनसीएचएलले हाल कनेक्ट आईपीएस, कर्पोरेट पे, बैंक सेन्ट्रलका साथै विभिन्न सदस्य बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग तथा विभिन्न मोबाइल वालेटमार्फत पनि सरकारी राजस्व संकलन गर्ने सेवा विस्तार गर्दै आएको छ ।

चालू आर्थिक वर्षको फागुन महिनाको मध्यसम्म एनसीएचएलमार्फत रु. ३४ अर्ब बराबरको राजस्व संकलन भइसकेको कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२