काठमाडौं । युक्रेन र रुसबीचको युद्ध बढ्दै जाँदा विश्वका ठूला उद्याेग तथा कम्पनीले रुसविरुद्ध कदम चालिरहेका छन् । दर्जनौं कम्पनीले रुसमा आफ्नो सेवा सुविधामा प्रतिबन्ध लगाएर रुसलाई ‘सजाय’ दिइरहेका छन् ।
यसरी आफ्नो सेवा रोक्ने उद्योगमा सूचना प्रविधिसँग सम्बन्धित उद्योग पनि रहेका छन् । युक्रेनविरुद्ध युद्ध सुरु गरेकोमा सजायस्वरुप रुसमा आफ्नो सेवा बन्द गर्ने टेक कम्पनीहरूको सूची यसप्रकार छ:
एप्पल: विश्वका ठूला कम्पनीमध्ये एक एप्पलले रुसमा आफ्ना उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएको छ । कम्पनीले आफ्नो भुक्तानी सेवा एप्पल पेमा पनि सीमित व्यक्तिलाई मात्र पहँच दिएको छ भने रुसभन्दा बाहिरका कसैले पनि रुसको सरकारी सञ्चारमाध्यमका कुनै पनि एप डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ ।
यसैगरी युक्रेनी प्रयोगकर्ताको सुरक्षाका लागि भन्दै एप्पल म्याप्समा ट्राफिक र लाइभ इन्सिडेन्ट फिचर निष्कृय बनाइएको छ ।
गुगल: प्रविधिमा विश्वको अर्को ठूलो कम्पनी गुगलले समाचारहरूसँग सम्बन्धित फिचरमा रुसको आरटी (रसिया टुडे) लगायत सरकारी सञ्चारमाध्यमकाे समाचारमा प्रतिबन्ध लगाएको छ ।
साथै कम्पनीले आफ्नो वेबसाइट र एपहरूमा रुसी सरकारको स्वामित्वमा रहेको कुनै पनि सञ्चारमाध्यमको विज्ञापनमा रोक लगाएको छ । साथै त्यस्ता सञ्चार माध्यमले गुगल टुल प्रयोग गरेर आफ्नो विज्ञापन राख्न नपाउने बनाइएको छ ।
त्यस्तै कम्पनीको भुक्तानी प्रणाली गुगल पेले रुसको विभिन्न वित्तीय संस्था र यसका नेटवर्कको कारोबालाई पनि रोकेको छ ।
मेटा: साविकमा फेसबुक नाम रहेको कम्पनी मेटाले पनि आफ्नो सामाजिक सञ्जालका प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा रुसी सरकारी सञ्चारमाध्यम आरटी र स्पुतनिकलाई युरोपमा प्रतिबन्ध लगाएको छ ।
यस्तै रुसी सरकारी सञ्चार माध्यमहरूले यीमध्ये कुनै पनि प्लेटफर्ममा विज्ञापन राख्न वा कुनै पोस्टलाई मोनिटाइज गर्न प्रतिबन्ध लगाएको छ ।
युट्युव: गुगलको स्वामित्वमा रहेको भिडिओ शेयरिङ प्लेटफर्म युट्युवले आफ्नो प्लेटफर्म मार्फत रुसको सरकारी सञ्चार माध्यमले विज्ञापन र भिडिओ मार्फत गर्ने आम्दानीमा रोक लगाएको छ ।
ट्वीटर: विशेषगरी आफ्नो विचार अभिव्यक्त गर्ने प्लेटफर्मको रुपमा चर्चित ट्वीटरले रुस र युक्रेन दुवै देशमा विज्ञापनमा प्रतिबन्ध लगाएको छ । उता रुसले पनि आफ्नो देशमा ट्वीटरमाथि प्रतिबन्ध लगाएको छ ।
टिकटक: छोटो भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले रुसका सरकारी सञ्चारमाध्यमको मिडिया अकाउन्टमा प्रतिबन्ध लगाएको छ भने रुसी प्रयोगकर्ताका लागि आफ्ना फिचर सीमित गरेको छ । कम्पनीले रुसका प्रयोगकर्ताले नयाँ भिडिओ पोस्ट गर्न नमिल्ने र लाइभ बस्न नमिल्ने बनाएको छ ।
नेटफ्लिक्स: स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले रुसमा आफ्नो स्ट्रिमिङ सेवा बन्द गरेको छ भने रुसका सरकारी टिभी च्यानलको आफ्नो प्लेटफर्ममा प्रसारणमा प्रतिबन्ध लगाएको थियो । हाल भने नेटफ्लिक्स रुसमा पूर्ण रुपमा बन्द छ ।
एमआईटी: अमेरिकाको मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले रुसको मस्कोमा रहेको अनुसन्धान विश्वविद्यालय स्लोकोभो इन्स्टिच्युट अफ टेक्नोलोजीसँगको आफ्नो सहकार्य तोडेको छ ।
टीएसएमसी: ताइवानमा रहेको विश्वको सबैभन्दा ठूलो सेमिकन्डक्टर कम्पनी टीएसएमसीले रुसमा आफ्नो उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
इन्टेल: अमेरिकी चिप उत्पादन कम्पनी इन्टेलले पनि रुसमा आफ्नो उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
एएमडी: एड्भान्स्ड माइक्रो डिभाइस (एएमडी) ले रुसमा आफ्नो कम्प्युटर चिपको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
डेल टेक्नोलोजी: कम्प्युटर उत्पादक कम्पनी डेल टेक्नोलोजीले आफ्ना उत्पादन रुस र युक्रेन दुवै देशमा प्रतिबन्ध लगाउँदै दुई देशबीचको अवस्थालाई हेरेर अर्को कदम चाल्ने बताएको छ ।
उबर: राइड शेयरिङ एप उबरले पनि रुसको राइड शेयरिङ एप यानडेक्स डट ट्याक्सीबाट आफ्नो सहकार्य तोडेको छ ।
बोल्ट: युरोपेली राइड हेलिङ स्टार्टअप कम्पनी बोल्टले आफ्नो सेवा रुसको बेलारुसमा बन्द गरेको छ भने कम्पनीकै डेलिभरी एप ‘बोल्ट मार्केट’ मा रुसमा अथवा रुसी कम्पनीले उत्पादन गरेको सबै उत्पादन हटाएको छ ।
स्न्यापच्याट: सामाजिक सञ्जालको एक चर्चित प्लेटफर्म स्न्यापच्याटले रुस, बेलारुस र युक्रेनमा आफ्नो विज्ञापनको फिचर हटाएको छ ।
भाइबर: जापानको राकुटेन ग्रुपको स्वामित्वमा रहेको म्यासेजिङ एप भाइबरले रुसमा आफ्नो विज्ञापनको फिचर हटाएको छ ।
रोकु: टेलिभिजनका लागि स्ट्रिमिङ बक्स निर्माण गर्ने कम्पनी रोकुले पनि युरोपेली बजारमा रुसको सरकारी सञ्चारमाध्यम आरटीलाई प्रतिबन्ध गर्ने तयारी गरेको छ ।
माइक्रोसफ्ट: माइक्रोसफ्टले पनि आफ्नो विन्डोज एप स्टोरबाट रुसका सरकारी सञ्चारमाध्यमका एपह हटाउने तयारी गरिरहेको छ भने कम्पनीले आफ्नो कुनै पनि नयाँ उत्पादनहरू रुसी बजारमा बिक्री नगर्ने बताएको छ ।
इलेक्ट्रोनिक आर्टस: चर्चित भिडिओ गेम पब्लिसर इलेक्ट्रोनिक आर्ट्सले आफ्नो नयाँ फिफा गेमबाट रुसको राष्ट्रिय टिम सहित रुसी क्लब टिमको प्लेयरहरूलाई प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।
साथै कम्पनीले आफ्नो अर्को गेम एनएचएलबाट रुस र बेलारुसको राष्ट्रिय तथा क्लब आईस हकि टिमलाई हटाउने बताएको छ ।
नोकिया: नोकियाले पनि आफ्ना उत्पादनको विक्री रुसी बजारमा रोकेको छ ।
एरिक्सन: स्वीडेनको टेलिकम कम्पनी एरिक्सनले आफ्नो सामग्री रुसमा निर्यात नगर्ने भएको छ ।
पेपाल: अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी कम्पनी पेपालले रुसका प्रयोगकर्ताका लागि आफ्नो सेवामा प्रतिबन्ध लगाएको छ । कम्पनीले केही रुसी प्रयोगकर्ता र बैंकलाई ब्लक पनि गरेको छ ।
गो ड्याडी: वेब होस्टिङ कम्पनी गो ड्याडीले रुसबाट बन्ने कुनै पनि नयाँ वेबसाइटको आवेदन स्वीकार नगर्ने भएको छ ।
स्पोटिफाई: म्युजिक स्ट्रिमिङ कम्पनी स्पोटिफाईले रुसमा रहेको आफ्नो कम्पनी अनिश्चित समयका लागि बन्द गरेको छ भने यसले आरटी र स्पुतनिकका सबै सामग्री युरोपेली बजारका लागि बन्द गरेको छ ।
साथै यसले रुसको सरकारी सञ्चार माध्यमले तयार पारेका सामग्रीको प्रसारणमा पनि रोक लगाएको छ ।
ओराकल: ओराकलले युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेडेरोभको आग्रहमा आफ्नो क्लाउड सेवा रुसमा बन्द गरेको छ ।
एसएपी: जर्मनको सफ्टवेयर कम्पनी एसएपीले पनि रुसमा आफ्ना उत्पादन बिक्रीमा रोक लगाएको छ ।
डकडकगो: गोपनीयतामा केन्द्रित सर्च इन्जिन डकडकगोले रुसी सर्च इन्जिन यान्डेक्ससँगको आफ्नो सहकार्य तोडेको छ ।
रेडडिट: यस साइटले प्रयोगकर्ताले रुसी सरकारी सञ्चारमाध्यमसँग सम्बन्धित कुनै पनि लिंक पोस्ट गर्न नमिल्ने बनाएको छ ।
एयर बीएन्डबी : यस प्लेटफर्मले रुस र बेलारुसमा आफ्नो सेवा प्रतिबन्ध गरेको छ ।
सीडी प्रोजेक्ट रेड: यो गेम कम्पनीले पनि रुसमा आफ्ना गेमहरूको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
सोनी: सोनीले आफ्नो नयाँ फ्ल्यागशिप प्लेस्टेशन ड्राइभिङ गेम ‘ग्र्यान टुरिस्मो ७’ रुसमा सार्वजनिक नगर्ने बताएको छ ।
एडोबी: सफ्टवेयर कम्पनी एडोबीले रुसमा आफ्नो बिक्री र सम्पूर्ण सेवामा प्रतिबन्ध लगाएको छ । साथै रुसको सरकारी सञ्चार माध्यमले एडोबी क्रियटिभ क्लाउड, एडोबी डकुमेन्ट क्लाउड र एडोबी एक्सेपेरियन्स क्लाउड प्रयोग गर्न नमिल्ने बनाइएको छ
कोर्षेरा : अनलाइन कोर्ष सेवा प्रदायक कोर्सेराले रुसको विश्वविद्यालयहरूमा दिइरहेका सम्पूर्ण सामग्री हटाएको छ ।
सामसङ: दक्षिण कोरियाको ठूलो इलेक्ट्राेनिक्स कम्पनी सामसङले रुसमा आफ्ना कुनै पनि सामग्री निर्यातमा रोक लगाएको छ ।
साइमन्स: याे कम्पनीले रुसमा आफ्नो व्यवसायदेखि डेलिभरी सेवा सबै बन्द गरेको छ ।
एचपी: रुसको सबैभन्दा ठूलो कम्प्युटर आपूर्ती कम्पनी एचपीले पनि आफ्नो सामानको निर्यातमा रोक लगाएको छ ।