काठमाडौं । सरकारले इन्टरनेट प्रयोगमा कडाई गरेसँगै रुसमा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग ह्वात्तै बढेको छ । भीपीएनको मद्दतले फरक लोकेसनका आधारमा प्रयोगकर्ताले फरक ब्लक गरिएको वेबसाइट अथवा अनलाइन सेवा प्रयोग गर्न सकिन्छ ।
एक अध्ययन अनुसार गएको फेब्रुअरी २४ देखि मार्च ८ एप्पलको एप स्टोर र गुगलको प्ले स्टोरमा भएका उत्कृष्ट १० भीपीएन एपहरू रुसमा ६० लाख पटक डाउनलोड भएको पाइएको छ । विगत १३ दिनमा यो वृद्धि १५ सय प्रतिशतले भएको देखिन्छ ।
हुन त पछिल्ला केही वर्षमा रुसले आफ्नो इन्ट्रानेटमा काम गरिरहेको थियो । यद्यपि चीनले जस्तो पूर्ण रुपमा फेसबुक, ट्वीटर, गुगल लगायत प्लेटफर्महरूमा प्रतिबन्ध भने लगाएको थिएन ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने देशमा सञ्चालित इन्टरनेटमा विस्तारै कडाइ गर्दै आएको देख्न सकिन्थ्यो । देशमा हुनसक्ने विभिन्न साइबर आक्रमणबाट बच्ने कारण देखाउँदै पुटिनले देशमा इन्टरनेटको प्रयोगमा कडाई गरेको बताएको थियो ।
युक्रेनसँगको युद्धको कारण रुसी सरकारले इन्टरनेटमा थप कडाई गर्न थाल्यो । यसबीच मार्च ४ मा रुसी सरकारले फेसबुक र ट्वीटर दुवैमा प्रतिबन्ध लगायो ।
अध्ययन अनुसार मार्च ५ मा भीपीएनको डाउनलोड १० गुणाले बढेको थियो । यसले भीपीएन कम्पनीहरूको आम्दानीमा पनि वृद्धि गराएको छ ।