काठमाडौं । बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सी कारोबार गर्ने एटीएम (क्याश प्वाइन्ट्स) लाई बेलायतले गैरकानूनी ठहराएकाे छ । बेलायतको वित्तीय क्षेत्रको नियामक निकायले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यस्ता एटीएम अवैध भएको भन्दै बन्द गर्न निर्देशन दिएको हो ।
बेलायतमा क्रिप्टो एटीएमले क्रिप्टोकरेन्सी एक्सचेन्जको काम गर्दै आएका थिए । तर, त्यस्ता एटीएम बेलायतको मनी लन्ड्रिङ रेगुलेसनभित्र नपर्ने भन्दै नियामकले बन्द गर्ने निर्णय गरेको हो ।
यसको अर्थ बेलायतमा हाल सञ्चालनमा रहेका सबै क्रिप्टो एटीएम बन्द हुनेछन् ।
‘हामीसँग दर्ता भएको कुनै पनि क्रिप्टोसँग सम्बन्धित कम्पनीले क्रिप्टो एटीएम सञ्चालनका लागि स्वीकृत लिएका छैनन्,’ नियामकले जारी गरेको सूचनामा भनिएको छ, ‘यसको अर्थ जसले क्रिप्टो एटीएम सेवा दिइरहेको छन्, त्यो गैरकानूनी हो । त्यो हुँदा प्रयोगकर्ताले क्रिप्टो एटीएम प्रयोग नगर्नुहुन अनुरोध छ ।’
हालसम्म बेलायतमा कति क्रिप्टो एटीएम सञ्चालनमा छन भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । तर, अनलाइन ट्रयाकर ‘कोइन एटीएम ट्रयाकर’ का अनुसार बेलायतमा ८४ वटा क्रिप्टो एटीएम छन् ।