close

अब गुगल ट्रान्सलेट प्रयोग गर्दा अनुवाद गर्न खोजेकै भाषामा जिबोर्डको भाषा स्वतः स्विच हुने

टेकपाना टेकपाना

चैत २०, २०७८ २१:१७

अब गुगल ट्रान्सलेट प्रयोग गर्दा अनुवाद गर्न खोजेकै भाषामा जिबोर्डको भाषा स्वतः स्विच हुने

काठमाडौं । कुनै अपरिचित शब्दको अर्थ खोज्न वा कुनै सिङ्गो वाक्यलाई नै अनुवाद गर्ने कार्यका लागि गुगल ट्रान्सलेट निकै उपयोगी छ । एउटा सानो तर झन्झटिलो समस्या के छ भने ट्रान्सलेटमा गएर टाइप गर्दा विदेशी भाषाका लागि डिफल्ट किबोर्डमा फर्किनुपर्ने हुन्छ ।

अब भने एपमा आएको एउटा अपडेटले यस किसिमको समस्या समाधान गर्नेछ ।  गुगल ट्रान्सलेटमा आएको पछिल्लो अपडेटसँगै डिफल्टभन्दा फरक भाषामा अक्षर राख्न खोज्दा एन्ड्रोइडको जिबोर्डमा स्वतः भाषा परिवर्तन हुने नाइनटुफाइभगुगलमा उल्लेख छ ।

मानौँ जिबोर्डमा तपाईँले अङ्ग्रेजी भाषा छनौट गर्नु भएको छ । यसैबीच तपाईँले गुगल ट्रान्सलेट खोल्नु भयो र ‘ट्रान्सलेट फ्रम’मा अरबिक छान्नुभयो । यसरी तपाईँले टाइपिङ गर्न खोज्नु भयो भने जिबोर्डले अरबिक किबोर्डमा स्विच गर्नेछ ।

यसैगरी यदि तपाईँले छुट्टै भाषामा परिवर्तन गर्नुभयो, उदाहरणका लागि स्पेनिस लिउँ । यस्तोमा तपाईँको किबोर्ड पहिला जुनसुकै भाषामा रहेको भए पनि स्वतः स्विच हुनेछ । जब तपाईँ ट्रान्सलेट स्क्रिनबाट बाहिरिनुहुन्छ, जिबोर्ड पहिलेकै भाषामा स्विच हुन्छ ।

यस अघि तपाईँले ट्रान्सलेट गर्न खोजेको भाषा किबोर्डमा रहेको भाषाभन्दा फरक रहेको अवस्थामा स्पेस बारसँगै रहेको ग्लोब आइकनमा थिच्नुपर्ने हुन्थ्यो । त्यसपछि जिबोर्डको सेटिङमा गएर आवश्यक भाषा छनौट गर्नुहुन्थ्यो होला ।

तर यो नयाँ अपडेटले निकै सहज बनाएको छ । यो फिचर गुगल ट्रान्सलेटको ६.३३ भर्सनसँगै लाइभ भएको छ, जुन जिबोर्डको हालको स्टेबल भर्सनसँग मिल्दो छ ।

यदि तपाईँ अटो ल्याङ्ग्वेज स्विच चलाउने प्रयास गर्न चाहनुहुन्छ भने एपीके मिररमा गएर गुगल ट्रान्सलेटको पछिल्लो भर्सन डाउनलोड गर्न सक्नुहुन्छ । गुगल ट्रान्सलेटले हालै मात्र विभिन्न उपयोगी अपडेट ल्याएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५