काठमाडौं । गुगल र सामसङले ‘हेल्थ कनेक्ट’ (मोबाइलमा हुने स्वास्थ्यसम्बन्धी फिचर) प्लेटफर्मको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) सिर्जना गर्न सम्झौता गरेका छन् । यो एपीआईले डेभलपरहरूलाई एन्ड्रोइड एपहरू र डिभाइसबीच प्रयोगकर्ताको स्वास्थ्य सम्बन्धित विवरण सिंक्रोनाइज गर्न मद्दत गर्नेछ ।
यसले प्रयोगकर्तालाई विभिन्न प्लेटफर्महरूमा उनीहरूको स्वास्थ्य र फिटनेस डेटा ट्र्याक राख्न सजिलो बनाउने बताइएको छ । यस अनुसार डेभलपरहरूले प्रयोगकर्ताको डिभाइसमा रहेको इन्क्रिप्टेड हबमा आफ्नो स्वास्थ्य डेटा कम्पाइल गर्न सक्छन् ।
प्रयोगकर्ताले आफूले कस्तो प्रकारको डेटा शेयर गर्ने र कुन एपमा शेयर गर्ने भन्ने कुरामा पूर्ण नियन्त्रण पाउने बताइएको छ ।
यदि एकभन्दा बढी एपले एउटै प्रकारको डेटा सङ्कलन गरिरहेको छ भने प्रयोगकर्ताले सोही डेटालाई अर्को एपमा शेयर गर्न सक्नेछन् ।
‘हेल्थ कनेक्ट’ ले प्रयोगकर्ताको स्वास्थ्य गतिविधि, शरीरको मापन, साइकल ट्र्याकिङ, पोषण, निद्रा लगायत विभिन्न श्रेणीमा ५० भन्दा बढी प्रकारका डेटा संकलन गर्न मद्दत गर्ने जनाइएकाे छ ।
हाल एप डेभलपरहरूले हेल्थ कनेक्टको बेटा भर्सन प्रयोग गरिरहेका छन् । यो सेवा अहिले एन्ड्रोइड डेभलपरका लागि मात्र खुला गरिएको छ ।