काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० देखि संघीय मन्त्रालयहरूलाई डिजिटल कार्यालयमा रुपान्तरण गर्ने घोषणा गरेको छ ।
आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी डिजिटल कार्यालयको स्थापनाको बारेमा बताएका हुन् ।
डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयन गरि पहिलो चरणमा संघीय मन्त्रालयहरूलाई डिजिटल कार्यालयहरूमा रुपान्तरण गरिने उनले बताएका छन् ।
यसका साथै स्थानीय तहसम्म ब्रोडब्यान्ड सेवाको विस्तारमा थप काम अगाडि बढाउने उनले बताए ।
‘आगामी आर्थिक वर्षको लागि अर्थ मन्त्रालयले सूचना महामार्ग, डेटा सेन्टर, इन्टरनेट एक्सचेन्ज सेन्टर, अनलाइन सेवा र विद्युतीय भुक्तानी सम्बन्धित सूचना प्रविधि पूर्वाधार विकास गर्न बजेट विनियोजन गरेको छु,’ सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्दै उनले भने ।