close

गुगल ट्रान्सलेट प्रयोग गर्ने स्मार्ट तरिका, जुन धेरैलाई थाहा छैन

टेकपाना टेकपाना

जेठ १५, २०७९ २२:४७

गुगल ट्रान्सलेट प्रयोग गर्ने स्मार्ट तरिका, जुन धेरैलाई थाहा छैन

काठमाडौं । गुगल ट्रान्सलेटले सुरुवातबाट नै भाषा अनुवादमा टेवा पुर्‍याउँदै आइरहेको छ । यसले रियल टाइममा तपाईंले कुन भाषालाई अनुवाद गर्न खोज्नुभएको भन्ने कुरा पहिचान गरेर तपाईंले चाहेको र त्यहाँ उपलब्ध भाषामा अनुवाद गर्ने गर्छ ।

त्यस्तै तपाईं कुनै नौलो देशमा जानुभयो, जहाँको भाषाबारे तपाईंलाई केही जानकारी छैन भने तपाईंले गुगल ट्रान्सलेटका माध्यमबाट रियल टाइममा कुनै आफूलाई सहज पर्ने भाषामा अनुवाद गर्न सक्नुहुन्छ ।

अहिले गुगल ट्रान्सलेटरका माध्यमबाट विश्वमा बोलिने १३१ प्रमुख भाषाहरूलाई अनुवाद गर्न सकिन्छ । आज हामी गुगल ट्रान्सलेटरका माध्यमबाट कसरी कसरी भाषा अनुवाद गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं ।

गुगल ट्रान्सलेट भनेको के हो ?

सामान्य शब्दमा भन्नुपर्दा गुगल ट्रान्सलेट गुगलले विकास गरेको सेवा हो, जसले शब्द, डकुमेन्ट, वेबसाइट र बोलिएका भाषालाई कुनै पनि भाषामा अनुवाद गर्न सघाउँछ । गुगल ट्रान्सलेटरका माध्यमबाट हाल १३१ भाषामा ट्रान्सलेट गर्न सकिन्छ ।

विगतमा १०८ भाषा ट्रान्सलेट हुन्थे भने गुगलले हालै केही भाषाहरू थपेर १३१ पुर्‍याएको छ । तपाईंलाई कुनै पनि भाषाका लेखहरू अनुवाद गरेर पढ्न पर्‍यो वा कतै लेख्नुपर्‍यो भने गुगल ट्रान्सलेट उपयुक्त विकल्प हुनसक्छ ।

वाक्य वा अनुच्छेदका सन्दर्भमा शतप्रतिशत सही नतिजा दिन्छ भन्ने हुँदैन । तर केही शब्दलाई भने यसले शतप्रतिशत ट्रान्सलेट गर्न सघाउँछ ।

गुगल ट्रान्सलेटका माध्यमबाट कुराकानी यसरी ट्रान्सलेट गर्नुहोस्

मानौं तपाईंले कोही विदेशी मान्छे भेट्नुभयो । उसँग बोल्न खोज्नुभयो, तर उसको भाषाबारे तपाईंलाई केही जानकारी छैन । त्यस्तो तपाईंले गुगल ट्रान्सलेटरको रियल टाइम लाइभ कुराकानीलाई अनुवाद गर्न सक्नुहुन्छ ।

तपाईंले आफूले बोलेको भाषा उसको भाषामा अनुवाद गर्न र उसले बोलेको उसको भाषालाई आफ्नो भाषामा अनुवाद गर्न सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिले गुगल ट्रान्सलेट इन्स्टल गर्नुहोस् । त्यसपछि एप खोल्नुहोस् ।

  • त्यसको होम स्क्रिनमा विभिन्न चार अप्सन देख्न सकिन्छ ।
  • त्यसमध्ये कन्भरसेसन (Conversation) मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ एउटा ठाउँमा आफूले बोल्न लागेको भाषा छान्नुहोस् र अर्कोमा आफूले अनुवाद गर्न चाहेको भाषा छान्नुहोस् ।
  • त्यसपछि तपाईंले छानेका दुईवटा भाषाको तलपट्टि ट्याप टु टक (Tap to talk) भन्ने अप्सन देख्न सक्नुहुन्छ ।
  • त्यसपछि आफूले बोल्न लाग्दा आफू; बोल्न लागेको भाषाको तलपट्टि रहेको ट्याप टु टकमा ट्याप गरेर बोल्नुहोस् । तपाईंले बोलेको भाषा तपाईंले चाहेको भाषामा अनुवाद हुन्छ ।

आफूले बोलेको कुरा यसरी ट्रान्सलेट गर्नुहोस्

कसैसँग भएका कुराकानी अनुवाद गर्न त माथि दिएको उपाय नै उपयुक्त हुन्छ । यदि तपाईंलाई आफूले बोलेको कुनै भाषा अन्य भाषामा अनुवाद गर्न पर्यो भने यहाँ उल्लेख गरेको तरिकाले अनुवाद गर्न सक्नुहुन्छ । यसका माध्यमबाट तपाईंले अनुवाद गरेको भाषालाई सुन्न र पढ्न सकिन्छ ।

  • सबैभन्दा पहिले गुगल ट्रान्सलेट एप खोल्नुहोस् ।
  • त्यसपछि त्यसको होम स्क्रिनमा भएको ट्रान्सलेट भन्ने अप्सन छान्नुहोस् ।
  • त्यहाँ तपाईंले दुईवटा दुईवटा भाषा छान्न पर्ने हुन्छ । त्यसको पहिलोमा आफूले टाइप गर्न चाहेको वा बोल्ने गरेको भाषा छान्नुहोस् । अर्कोमा भने अनुवाद गर्न चाहेको भाषा छान्नुहोस् ।
  • त्यसपछि तपाईंले इन्टर टेक्स्ट टु ट्रान्सलेट (Enter text to translate) भन्ने बक्समा आफूले शब्दहरू टाइप गर्न सक्नुहुन्छ । 
  • त्यही बक्सको तलपट्टि माइक्रोफोन र क्यामेराको आइकन देख्न सकिन्छ । तपाईंले माइक्रोफोनमा ट्याप गर्नुभयो भने बोलेको भाषा बक्समा टाइप भएर चाहेको भाषामा अनुवाद हुन्छ । 
  • त्यस्तै क्यामेराको आइकनमा ट्याप गर्‍यो भने लाइभ फोटो खिचेर वा छेउको फोटोको आइकनमा ट्याप गरेर ग्यालेरीमा भएको टेक्स्ट फोटोलाई टेक्स्टमा परिणत गरी आफूले चाहेको भाषामा अनुवाद गर्छ ।

टेक्स्ट भएको इमेजलाई यसरी अनुवाद गर्नुहोस्

जसरी तपाईंले बोलेर भाषा अनुवाद गर्न सक्नुहुन्छ वा कुराकानीलाई अनुवाद गर्न सक्नुहुन्छ, त्यसरी नै फोटोमा भएको टेक्स्टलाई आफूले चाहेको भाषामा गुगल ट्रान्सलेटको एपबाट अनुवाद गर्न सकिन्छ । त्यसका लागि तल उल्लेखित प्रक्रियाहरू अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले गुगल ट्रान्सलेट एप खोल्नुहोस् ।
  • त्यसको होम पेजमा क्यामेरा ट्रान्सलेट भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ क्यामेरा र ग्यालरीको अप्सन देख्न सक्नुहुन्छ ।
  • त्यसको माथि दुईवटा भाषा छान्ने विकल्प देख्न सकिन्छ । त्यसमा दायाँपट्टि तपाईंले अनुवाद गर्न लागेको भाषा छान्नुहोस् । त्यस्तै अर्को भाषा भएको ठाउँमा अनुवाद गर्न चाहेको भाषा छान्नुपर्ने हुन्छ ।
  • तपाईंले आफ्नो आवश्यकता अनुसार क्यामेरा वा ग्यालरीको फोटो छानेर अनुवाद गर्न सक्नुहुन्छ ।
  • त्यसपछि तपाईंले फोटो खिचेर पनि भाषालाई अनुवाद गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४