काठमाडौं । डिजिटल वित्तीय सेवालाई सुरक्षित बनाउन नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकको सहकार्यमा अध्ययन अघि बढेको छ ।
इन्टरनेटमा आधारित भएर सञ्चालन हुने वित्तीय सेवालाई सुरक्षित बनाउने उद्देश्यका साथ अध्ययन अघि बढेको दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितले जानकारी दिए ।
प्राधिकरणले उपलब्ध गराउने दूरसञ्चार पूर्वाधार कस्तो हुनुपर्छ भन्ने विषयमा अध्ययन गर्न समिति गठन भएको उनले बताए । उनको संयोजकत्वमा गठित समितिमा राष्ट्र बैंकका प्रतिनिधि समेत रहेको जनाइएको छ ।
‘डिजिटल वित्तीय सेवा सुरक्षित हुनुपर्याे । त्यसका लागि सामान्य भास सर्भिसमा गरिने ‘क्वालिटी सर्भिस टेस्ट’ पर्याप्त हुन्छ कि थप परीक्षण आवश्यक पर्छ ? यसलाई सुरक्षित बनाउन कुनै प्यारामिटर तोक्नुपर्ने हो कि ? जस्ता विषयलाई लिएर अध्ययन भइरहेको छ,’ टेकपानासँग उनले भने ।
अध्ययन प्रक्रियाका लागि केही महिना अघिमात्रै राष्ट्र बैंक र प्राधिकरणबीच सम्झौता भएको थियो । सोही सम्झौताको आधारमा सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको र केही सातामा प्रतिवेदन तयार हुने उनले जानकारी दिए ।