काठमाडौं । दैनिक जीवनमा आवश्यक सम्पूर्ण प्रकारका अनलाइन सेवालाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले सुपर एपको तयारी गरेको छ ।
कम्पनीले प्रयोगकर्ताको लागि एउटै एपबाट बैंकिङदेखि आफ्नो दैनिकीमा आवश्यक पर्ने सम्पूर्ण काम गर्न सक्नेगरी सुपर एपका लागि काम गरिरहेको कम्पनीका सीईओ सञ्जीव सुब्बाले जानकारी दिए ।
‘यो सुपर एप एउटा हाटबजारजस्तै हुनेछ, जहाँ एक प्रयोगकर्ताले चाहेको हरेक कुरा भेट्नेछन्,’ उनले भने, ‘हाम्रो मुख्य दैनिकी भनेको नै भुक्तानी हो । बिहान उठेदेखि नसुतेसम्म हामी खाना, कपडा, रासन लगायतका अनेक भुक्तानीहरू गर्ने गर्छौं । यही भुक्तानीलाई एकैठाउँमा ल्याएर सहज बनाउन हामीले सुपर एपको विकास गर्ने तयारी गरेका हौं ।’
डिजिटल भुक्तानी जीवनशैलीको रूपमा परिणत हुँदै गइरहेको अवस्थामा विभिन्न क्षेत्रका एपलाई नेप्सको सुपर एपमा आबद्ध गर्ने उनले बताए ।
यसका लागि सम्बन्धित निकाय र सेवा प्रदायकसँग छलफल गरी काम अगाडि बढिहरेको उनले जानकारी दिए ।