close

आफ्नै अन्तरिक्ष स्टेसन बनाउँदै चीन, यसै वर्ष सञ्चालनमा आउने

टेकपाना टेकपाना

जेठ १८, २०७९ १५:४२

आफ्नै अन्तरिक्ष स्टेसन बनाउँदै चीन, यसै वर्ष सञ्चालनमा आउने

 
काठमाडौं । चीनले निर्माण गरिरहेको आफ्नो छुट्टै स्पेस स्टेसन सन् २०२२ को अन्त्यसम्म तयार हुने भएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनले तीन अन्तरिक्षयात्री सहितको अन्तरिक्षयान आफ्नो स्पेस स्टेसन ‘ताइङगोङ’ मा पठाउने तयारी गरिरहेको छ र यो उडान छिट्टै हुने बताइएको छ ।

साथै यही जुलाई र अक्टोबरमा चीनले आफ्नो तयार हुँदै गरेको स्पेस स्टेसनमा अध्ययन गर्ने ल्याब तयार गर्नको लागि दुईवटा ल्याबाेरेटरी मोड्युल समेत पठाउँदैछ । स्पेस स्टेसनमा तयारीको लागि यो नै अन्तिम उडान हुने पनि जनाइएको छ ।

यसको अर्थ हो २०२२ नसकिँदै चीनको आफ्नै स्पेस स्टेसन तयार हुनेछ । हाल अन्तरिक्षमा पूर्ण रुपमा सञ्चालनमा भएको स्पेस स्टेसन इन्टरनेशनल स्पेस स्टेसन (आईएसएस) मात्रै हो । अमेरिका, रुस, जापान, युरोप र क्यानडाको सहकार्यमा आईएसएस सञ्चालनमा आएको थियो ।

यद्यपि अहिले देशहरूबीचको मनमुटावको कारण आईएसएस सञ्चालन पनि अन्यौलमा पुगेको छ । यस्तोमा रुस र चीनले सहकार्य गर्ने चर्चाहरू पनि चलिरहेका छन् । तर, हालसम्म दुई देश बिचको कुनै आधिकारिक जानकारी आएको छैन । त्यो हुँदा हाल सम्मका लागि चीन मात्र एउटा यस्तो देश हुनेछ, जसको आफ्नै स्पेस स्टेसन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३