close

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बन्न १२ जनाले दिए आवेदन

टेकपाना टेकपाना

जेठ २४, २०७९ १७:१

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बन्न १२ जनाले दिए आवेदन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को कार्यकारी निर्देशकका लागि माग गरेको दरखास्तमा १२ जनाले आवेदन दिएका छन् ।

यही जेठ १३ गते मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै विगत डेढ महिनादेखि रिक्त रहेको पदमा दरखास्त माग गरेको थियो ।

यसअघि एनआईटीसीका कार्यकारी निर्देशकमा हाल नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) का प्रबन्ध निर्देशक सुनिल पौडेल कार्यरत थिए । पौडेललाई गएको चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा सिफारिस गरेको थियो ।

पौडेल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै रिक्त रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकका लागि सरकारले यही सोमबार सम्मको समय अवधि दिएर दरखास्त आह्वान गरेको थियो । 

आवेदन दिनेमा विनोद ढकाल, अनुप बाँस्कोटा, रमेशप्रसाद जोशी, विश्वास खतिवडा, गुणानन्द पाठक, प्रदीप शर्मा पौडेल, नरेन्द्रबहादुर बोहरा छन् ।

त्यस्तै रामेश्वर सुवेदी, महेशकुमार यादव, सुरेशकुमार कर्ण, प्रदीपकुमार श्रेष्ठ र लक्ष्मीप्रसाद यादवले पनि आवेदन दिएका छन् ।

आवेदन दिनेमा विनोद ढकाल र सुरेशकुमार कर्ण कम्प्युटर अशाेसिएसन अफ नेपाल (क्यान महासंघ) का पूर्वअध्यक्ष हुन ।

त्यस्तै अनुप बाँस्कोटा लुम्बिनी प्रदेशका सञ्चार तथा सूचना प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशक हुन् ।

लक्ष्मीप्रसाद यादव सूचना प्रविधि विभागको पूर्वमहानिर्देशक हुन् भने नरेद्रबहादुर बोहरा केन्द्रकै पूर्व बोर्ड सदस्य हुन् ।

योसँगै अब मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको छनोट कमिटीले उत्कृष्ठ तीन जनाको नाम छनोट गरी सिफारिस गर्नेछ ।

त्यसका लागि सबै आवेदकसँग व्यावसायिक कार्ययोजना माग गर्नुका साथै त्यसको प्रस्तुतीकरण समेत हुनेछ । प्रस्तुतीकरणपछि हुने अन्तर्वार्ताका आधारमा मूल्यांकन गरी नयाँ कार्यकारी निर्देशक सिफारिस हुने बताइएकाे छ । 

मन्त्रालयले जारी गरेको दरखास्त सूचना अनुसार याे पदमा योग्य हुनका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका हुनुपर्नेछ ।

यसका लागि कम्प्युटर इन्जिनियरिङ, विज्ञान, अर्थशास्त्र वा वाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तीर्ण भएको हुनुपर्ने, साथै सूचना प्रविधिसम्बन्धी विषयमा कम्तीमा एक वर्षको तालिम र कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३