close

फेसबुकमा यो काम गर्दै नगर्नुहोस्, नत्र अकाउन्ट सधैँका लागि बन्द होला

टेकपाना टेकपाना

जेठ २४, २०७९ १८:१९

फेसबुकमा यो काम गर्दै नगर्नुहोस्, नत्र अकाउन्ट सधैँका लागि बन्द होला

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक हाम्राे दैनिकीको अभिन्न भाग बनिसकेको छ । के तपाईंलाई थाहा छ, तपाईंले अञ्जानमा क्लिक गरेका लिङ्क वा अञ्जानमा गरेका कुनै कामले तपाईंको फेसबुक अस्थायी वा सधैंका लागि प्रतिबन्धित हुनसक्छ ।

फेसबुकमा केके गर्न हुँदैन ?

तपाईंले फेसबुकबाट प्रायः आफूले चिनेका मान्छे वा पेजको पोस्टमा जानेर नै कमेन्ट गरिरहनु भएको हुन्छ । कतिपय अवस्थामा तपाईंले गरेको कमेन्ट फेसबुकको नीति विपरीत हुन गई तपाईंको अकाउन्टमा प्रतिबन्ध लाग्नसक्छ ।

त्यस्ता कमेन्ट जसले अश्लीलता, हिंसात्मक गतिविधि, स्पाम फैलाउने, अनाधिकारिक बिक्री, गलत सूचना, दुर्व्यवहार दर्शाएका हुन्छन्, त्यस्ता कमेन्ट पाउनसाथ फेसबुकले तपाईंको अकाउन्टमा बिना कुनै जानकारी प्रतिबन्ध लगाइदिन्छ ।

उदाहरणका लागि (मेन आर डेन्जरस (Men are dangerous), सेभेन एलओओभी डट कम (स्पाम) (7loov.com)) यस्ता कमेन्ट गर्नुभयो भने तपाईंको अकाउन्टमा प्रतिबन्ध लाग्नसक्छ ।

सबैभन्दा पहिले तपाईंलाई पहिलो पटक गल्ती भएको हुनसक्छ भन्ने जानकारी दिन्छ । दोस्रो पटक तपाईंलाई एक दिनको समय दिइन्छ,, तेस्राे पटक दुई दिनको, चौंथो पटक २८ दिनको र पाँचौं पटक अनिश्चित समयका लागि प्रतिबन्ध लाग्छ ।

फेसबुकमा अहिले विभिन्न किसिमका स्क्याम (ठगी कार्य) हुने गरेका छन् । विभिन्न नाम चलेका व्यक्तिको लाइभ नक्कली आईडीबाट स्क्यामरले स्ट्रिमिङ गरिरहेका हुन्छन् ।

यदि कुनै व्यक्तिले त्यस लाइभमा कमेन्ट गर्‍यो भने सो व्यक्तिको इन्बक्समा एउटा मेसेज जान्छ, जसमा ‘तपाईं भाग्यशाली विजेता बन्नुभएको छ । पुरस्कार पाउनका लागि यस लिङ्कमा क्लिक गर्नुहोस्’ लेखिएको हुन्छ ।

यदि तपाईंले ती लिङ्कमा क्लिक गर्दै जानुभयो भने तपाईंलाई विभिन्न पुरस्कारका प्रलोभन देखाउँदै ह्याकरको फिशिङ अट्याकतर्फ डोर्‍याइरहेका हुन्छन् ।

तपाईं त्यसरी फेसबुकमा आएको लिङ्कका माध्यमबाट कुनै स्पाम लिङ्कमा गइरहेको जानकारी फेसबुकले पाउँछ र अकाउन्ट खतरामा भएको महसुस गर्दै अकाउन्टमा प्रतिबन्ध लगाइदिन्छ ।

यदि फेसबुकले प्रतिबन्ध लगाएन भने ह्याकरले तपाईंको आईडी प्रयोग गरी विभिन्न व्यक्ति वा ग्रुपलाई च्याटमार्फत स्पाम लिङ्क फर्वार्ड गर्ने गर्छ ।

यसरी स्पाम लिङ्क फैलाएर मानिसहरूलाई झुक्काउने विकृति दिनानुदिन बढिरहेको छ । आफ्नो अकाउन्ट सुरक्षित राख्न तपाईंले त्यस्ता लिङ्क वा प्रलोभन अस्वीकार गर्नुपर्छ ।

त्यस्तै फेसबुकमा पोस्ट गर्दा फोटो वा क्याप्सन, स्टोरी वा कमेन्टले फेसबुकको नीति विपरीत नगएको ख्याल गर्नुपर्छ । यसरी तपाईं फेसबुकले लगाउने प्रतिबन्धबाट बच्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३